धरान: लकडाउनले समस्यामा परेका विपन्न परिवारलाई धरानमा तेस्रो चरणको राहत वितरणको लागि वडा कार्यालयहरुमा आवश्यक खाद्यान्न पठाउन शुरु भएको छ ।
उपमहानगरपालिकाले तेस्रो चरणको राहत वितरणको लागि फुड बैंकमा भएको खाद्यान्न वडा कार्यालयहरुमा पठाएको हो । वडा कार्यालयहरुले भने आफ्नो समय अनुकुल बनाएर विपन्न परिवारलाई राहत विरतण गर्नेछन् । बिहिबार विभिन्न वडा कार्यालयहरुले राहत लिएर गएका छन् । तेस्रो चरणको राहतको लागि २ लाख किलो चामल र दाल खरीद गरिएको छ ।
तेस्रो चरणमा चामल र मुसुरीको दाल मात्र राहतमा वितरण गरिनेछ । फुड बैंकका व्यवस्थापक एवं उपमहानगरपालिकाका अधिकृत भेषराज घिमिरेका अनुसार हरेक परिवारलाई १० केजी चालम र १ केजी दालको दरले राहत वितरण हुनेछ । उपमहानगरपालिकाका अनुसार तेस्रो चरणमा १ करोड १३ लाख ३४ हजार रुपैया बराबरको राहत विरतण गरिनेछ ।
राहतको लागि ९६ लाख बराबरको चामल(सोना मन्सुली) २ लाख किलो र १७ लाख ३४ हजार बराबरको मुसुरी दाल १७ हजार किलो खरीद गरिएको हिजो पत्रकार सम्मेलनमा मेयर राईले जानकारी दिएका थिए । पहिलो र दोस्रो चरणमा गरि कुल २ करोड ६ लाख ७९ हजार १ सय ५५ रुपैया बराबरको राहत वितरण गरिसकेको जनाएको छ । पहिलो र दोस्रो चरणको राहतको लागि खरीद गरिएको खाद्यान्नको ६४ लाख १६ हजार ३ सय ८१ रुपैया भुक्तानी गर्न अझै बाँकी रहेकोछ ।