धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा रहेका इटहरी २ का युवालाई कोरोना संक्रमण भएको पुष्टि भयो । त्यसपछि ती युवालाई विराटनगरको कोभिड १९ अस्पताल पठाउन साढे १० बजे तयारी अवस्थामा राखियो ।

त्यसपछि, कोरोना तथा अन्य रोगका विरामी व्यवस्थापनका फोकल पर्सन डा.इन्द्र लिम्बु एम्बुलेन्स व्यवस्थापनमा जुटे। स्थानीयस्तरमा भएको छलफलले ३ वटा एम्बुलेन्स वीपी प्रतिष्ठान परिसरमा राख्ने र सम्भावित संक्रमितहरु ओसारपसारमा प्रयोग गर्ने निर्णय भएको थियो । तर, आज बिहान ३ घण्टा भन्दा बढी समय पर्खदा पनि आइसोलेसनमा रहेका इटहरीका संक्रमित विरामी बोक्न कुनै एम्बुलेन्स आएनन् ।

तीन वटा मध्ये रेडक्रस सोसाइटीको एम्बुलेन्स इनरुवा गएको थियो । अन्य २ वटा एम्बुलेन्स भने संक्रमित व्यक्ति नबोक्ने भन्दै आउन नमानेको डा.लिम्बुले बताए । ‘हामीले साढे १० बजेदेखि विराटनगर पठाउन तयारी अवस्थामा राखेको, तर पोजेटिभ नबोक्ने भनेर एम्बुलेन्स नै आउन मानेन,’उनले भने,‘आफै वीपीको व्यवस्था गरेर पठायौं ।’

तीन घण्टाभन्दा बढी समय पर्खदा पनि एम्बुलेन्स नआएपछि डा.लिम्बुले वीपी प्रतिष्ठानकै एम्बुलेन्समा पठाएको बताए । ‘एम्बुलेन्सहरु विरामी बोक्नकै लागि भनेर राखिएको हो, अस्ति ३ वटा विरामी बोकेर गएको पनि हो, तर आज किन मानेनन् थाहै भएन,’डा.लिम्बुले भने,‘आज त मेनेज गर्यौं, तर यो बिषयमा छलफल गर्नुपर्ने हुन्छ ।’ डा.लिम्बुका अनुसार संक्रमित युवासँगै आएका व्यक्ति उनका मामा हुन् । उनी भने आइसोलेसनमा नै रहेका छन् । उनको पनि स्वाब परीक्षण गरेर रिपोर्टको आधारमा थप निर्णय हुने बताए ।

प्रतिष्ठानको र्यापिड रेस्पोन्स टिमका सदस्य एवं मेडिसिन विभाग प्रमुख प्रा.डा.सञ्जिव शर्माले चालकहरु डराउनुपर्ने अवस्था नभएको बताए । उनले यो बेला सबै डराउदै समस्याबाट भाग्न नहुने बताए । ‘डराउनुपर्ने अवस्था थिएन । सुरक्षितरुपमा नै पठाउने गरेको छ । यो बेला सबै डराउने हो भने कसरी चल्छ ?’ उनले भने ।

संक्रमितलाई किन यता उता लैजाने ?

नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति उमेश थापा भने वीपी प्रतिष्ठानमा कोभिड १९ अस्पताल हुँदा हुदै संक्रमित व्यक्तिलाई विराटनगर पठाउनु उचित तथा सुरक्षित नहुने बताउँछन् । साथै, उनले ३ वटा एम्बुलेन्स शंकास्पद विरामी बोक्नको लागि मात्र व्यवस्थापन गरिएको बताए । ‘कोही शंकास्पद व्यक्ति छ भने वीपी लैजाने, त्यहाँबाट क्वारेन्टाइन पुर्याउने, क्वारेन्टाइनबाट वीपी ल्याउने, घर पुर्याउने उद्देश्यको लागि हो,’थापाले भने,‘अस्ति हाम्रो रेडक्रसकै एउटा एम्बुलेन्समा संक्रमित पठाएपछि चालक क्वारेन्टाइनमा छ । संक्रमितलाई वीपीमै उपचार नगराई विराटनगरनै किन पठाउनु पर्यो ? यसले जोखिम झनै निम्त्याउछ ।’

उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका कविराज रामबाबु यादवले पनि हेल्प डेस्कमा सम्भावित संक्रमितलाई पुर्याउने, क्वारेन्टाइनमा लैजाने कामको लागि मात्र एम्बुलेन्स व्यवस्थापन गरिएको जिकिर गर्छन् । साथै, एम्बुलेन्समा पार्टेसन नभएकोले चालकहरु जोखिम हुने भएकोले पनि नमानेको हुनसक्ने बताए ।

यता, कोरोनाका सम्भावित संक्रमितलाई क्वारेन्टान व्यवस्थापन गर्न गठित समितिका संयोजक एवं इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्रबहादुर कार्की भने कोही व्यक्ति संक्रमित हुन्छन् भनेर नै ओसारपसार गर्नको लागि पनि एम्बुलेन्स व्यवस्था गरिएको बताउँछन् । ‘आजको घटनाबारे मलाई जानकारी आएको छैन, तर सक्रमित हुन्छन् र ओसार पसार गर्नुपर्छ भनेर एम्बुलेन्स राखेको हो,’उनले भने ।