धरान: कोरोना संक्रमण भएको भनिएको महिला धरान १३ शिवधारा क्षेत्रको भएको खुलेको छ । त्यसक्षेत्रमा अहिले प्रहरी परिचालन गरिएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानका अनुसार त्यसक्षेत्रमा आवागमन बन्द गर्न प्रहरी परिचालन गरिएको छ । साथै, वीपी प्रतिष्ठानसँग समन्वय गरेर अस्पताल पठाउन पहल भइरहेको पनि उनले बताए । संक्रमित भनिएकी महिला ५१ बर्षीय हुन् । उनी हिजो श्रीमानसँगै वीपी प्रतिष्ठान उपचार गराउन गएकी थिइन् ।

संक्रमित महिलाकी श्रीमानले क्लिकधरानसँग मोवाइल सम्पर्कमा कुरा गर्दै स्वास्थ्य समस्या नभएको दाबी गर्दै आफुहरु काठमाण्डौं जानुपर्ने भएकोले चेकअप गर्न वीपी गएको बताए । ‘काठमाण्डौं जानुपर्ने थियो, त्यही भएर चेकअप गर्न गएको थियौं,’उनले भने,‘मेरो नेगेटिभ आएछ, श्रीमतिको पोजेटिभ आयो भन्ने सुने ।’ घरमा प्रहरीलगायतको टोली पुगिसकेको पनि उनले बताए ।

धरानका मेयर तिलक राईले लकडाउनलाई पुर्णरुपमा पालना गर्न धरानबासीहरुलाई आग्रह गरेका छन् । अत्यावश्यकबाहेक हिडडुल नगर्न र घरमा जे छ, त्यो खाद्यान्नलाई जोहो गरेर दैनिकी टार्न उनले आग्रह गरे । ‘संकटको बेला हो, त्यसैले सबैले सहयोग गरौं,’उनले भने ।