धरान: कोरोना भाइरस(कोभिड १९) संक्रमण भएको धरानको वडा नं १३ स्थित कृषि उपज बजारस्थल बन्द नगरिने भएको छ ।
कृषि बजार बन्द हुँदा कृषकहरुको कृषि उपज खेर जाने साथै नगरबासीहरुको दैनिकीमा असर पर्नसक्ने भएकोले बन्द नगरी व्यवस्थित गर्ने निर्णय भएको हो । आज उपमहानगरपालिकामा सञ्चालक समितिसँग भएको छलफलले कृषि बजारमा भिडभाड नियन्त्रण गर्न थोक व्यापारीको संख्या घटाउने साथै वडा कार्यालयबाट यसअघि जारी भएको तरकारी पसलको पास पनि खारेज गर्ने निर्णय भएको छ ।
यसअघिको पासले भोली(शनिबार) बिहानसम्म पसल खोल्न पाउने र त्यसपछि भने खारेज हुने बजार अनुगमन समिति संयोजक एवं उपमेयर मञ्जु भण्डारी सुवेदीले बताइन् । ‘बन्द गर्दैमा समस्या समाधान हुदैन, जनजीवनलाई सहज गर्न कृषि बजारलाई थप व्यवस्थित गर्ने, थोक व्यापारी संख्या घटाउने र वडामा एउटा टिएलओ बराबर एक डिपो दिने निर्णय भएको छ,’उनले भनिन् ।
उपमेयर भण्डारीका अनुसार कृषि बजारमा व्यापारी संख्या घटाउनुका साथै एक व्यापारीसँग २ जना मात्र बस्न पाउने नियम कडाईका साथ पालना गराइनेछ । यसले भिडभाड नियन्त्रणमा भुमिका खेल्नेछ । यस्तै, कृषि बजार र आसपास क्षेत्रलाई भोली बिहानैदेखि सेनिटाइज गरिने पनि उनले जानकारी दिइन् । ‘संक्रमित क्षेत्रको आसपासमा हिजोदेखि नै सेनिटाइज भइरहेको छ, कृषि बजार क्षेत्रलाई पनि पुर्णरुपमा सेनिटाइज गछौं । हाम्रो पहिलो प्राथमिकता वडा १३ लाई सेनिटाइज गर्नेमा छ,’उनले भनिन्,‘यसअघिको वडाबाट जारी भएको पास भोली बिहानसम्म चल्छ, त्यसपछि खारेज हुन्छ, र वडाबाट एक टिएलओ बराबर एक डिपोको अवधारणा लागु हुनेछ ।’