धरान: एक महिलामा कोरोना भाइरस(कोभिड १९) पुष्टि भएको धरानको वडा नं १३ मा छ कृषि उपज बजार ।

संक्रमित भेटिएको शिवधारा क्षेत्रसँग जोडिएको छ, अमर हाट र कृषि बजार । कृषि बजारमा हरियो तरकारी तथा फलफुल खरीद गर्न खुद्रा व्यापारीहरुको आउजाउ चलिरहन्छ । विभिन्न ठाउँबाट तरकारी लिएर गाडी र मानिस पनि कृषि बजारसम्म आउछन् । त्यो तरकारी खुद्रा पसल हुदै धरानको हरेक घरको भान्सासम्मै पुग्छ । त्यसैले संक्रमण पुष्टि भएको क्षेत्र नजिकै भएकोले कृषि बजार बन्द गर्नुपर्ने माग वडाबासीहरुबाटै उठिरहेको छ ।

कृषि बजारमा अन्य जिल्ला र भारतबाट पनि तरकारी आउने गरेको र यो जोखिमपुर्ण भएको भन्दै यसअघि पनि चर्को विरोध भएको थियो । त्यसबेला एक सातासम्म बन्द गरेर पछि व्यवस्थितरुपमा कृषि बजार खोलिएको थियो । अहिले कृषि बजार भएकै वडा र संक्रमित क्षेत्रको नजिकै पनि भएकोले बजार बन्द गर्नुपर्ने आवाज उठिरहेको छ । तर, सञ्चालक समिति र स्थानीय सरकारले यसतर्फ ध्यान दिन नसकेको भन्दै वडाबासीले आलोचना गरिरहेका छन् ।

धरान १३ का सुदिप राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘कृषि बजारमा निर्वाध खुलारुपमा यातायात, मानिसहरु आवतजावत भइरहेको छ, यत्रो लापरवाही किन ? हामी सिल कहिले गर्छ भन्ने पखाईमा छौं ।’ अर्का, युवा विष्णु चौलागाईले पनि कृषि बजारलाई पैसा आम्दानीको स्रोतकोरुपमा मात्र नलिन र मानवीय सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा पोष्ट गरेका छन् ।

सञ्चालक समितिले भने यो बिषयमा हिजो बिहिबार नै बैठक राखिएको भएपनि बजार व्यवस्थापन समितिकी संयोजक तथा उपमेयरको व्यस्तताले हुन नसकेको जनाएको छ । कृषि बजारको बिषयमा आज उपमहानगरपालिकाका छलफल हुने सञ्चालक समिति अध्यक्ष पर्शुराम कटवालले जानकारी दिए । ‘स्थानीय सरकारले के निर्देशन दिन्छ, हामी त्यही गछौं,’उनले भने ।

हिजो अनौपचारिक छलफलमा कृषि बजार कम्तीमा केही दिन बन्द गर्न र सेनिटाइज गर्ने बारे पनि कुरा भएको थियो । व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार कृषि बजारले व्यापारीहरुलाई हिजो नै तरकारीहरु नमगाउन जानकारी गरिसकेको थियो । आज थोरै मात्रामा तरकारी आएर बिहानै सकिएको उनले बताए । ‘अब आजको बैठकले के निर्णय गर्छ । केही दिनलाई बन्द गरेर कृषि बजारलाई डिस्इन्फेक्ट गर्ने, पास सिस्टमलाई कडाई गर्ने, वडामा थोरै मात्र डिपोलाई दिने र कृषि बजारमा खटिएकाहरुको टेष्ट गर्नेलगायत बिषयमा छलफल हुन्छ,’उनले भने ।

ठोस निर्देशन आएन: वडाअध्यक्ष

wada-13

संक्रमित महिला भेटिए पनि शिवधारा चोकदेखि उनको घरतर्फ जाने सहायक बाटो सिल गरिएको छ । यस्तै, वडाकै पहलमा सेनिटाइज पनि भयो । तर, उपमहानगरपालिकाबाट ठोस निर्देशन केही पनि नआएको अध्यक्ष नेत्र काफ्लेले बताए । ‘म भन्दा माथि पनि नेतृत्व छ, त्यसैले म एक्लैले निर्णय लिन गाह्रो भयो । तर, केही निर्णय, निर्देशन आएन । वडालाई सिल गर्दा पनि कति दिन गर्ने ? भन्ने पनि अन्योल भयो,’अध्यक्ष काफ्लेले भने,‘अहिले सहायक बाटो मात्र सिल गरेका छौं ।’

धरानका मेयर र उपमेयर दुवैसँग मोवाइल सम्पर्क गरेर यो बिषयमा प्रतिक्रिया लिन खोज्दा कसैको मोवाइल उठेन भने कसैको सम्पर्क हुन सकेन । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले भने वडालाई सेनिटाइज गर्ने काम भइरहेको बताए । साथै, वडाले कन्ट्रयाक्ट ट्रेसिंगमार्फत १५ जनाको नामावली तयार गरेको र आज वडामा गएर भेरिफाई गरिने उनले बताए ।