धरान: कोरोना भाइरस(कोभिड १९) बाट कसरी जोगिने ? अहिले विश्वभरका मानिसहरुलाई यो चिन्ताले छाएको छ । त्यसको लागि मानिसहरुले अनेक उपायहरु अपनाइरहेका छन् ।
भाइरस स्वासप्रश्वास माध्यमबाट मात्र होइन, मानिसहरुले प्रयोग गर्ने मोवाइल, पैसा, चस्मा, पर्सलगायत सामानहरुबाट पनि सर्ने जोखिम उतिकै छ । मानिसले आफ्नो हात त नियमितरुपमा सेनिटाइज प्रयोग गरेर वा साबुन पानीले हात धोएर किटाणु मार्छन्, तर यी सामग्रीहरुबारे भने त्यति ध्यान दिएका छैनन् । यही कुरालाई मध्यनजर गर्दै धरानका एक कृषि ईञ्जिनियरले अल्ट्रा भाइलट(यु.भि.) रेडिएसन बक्स तयार गरेका छन् । यो यु.भि.बक्सले मानिसले प्रयोग गर्ने वालेट(पर्स) मास्क, पैसा, मोवाइल, घडीलगायत हातले चलाइरहने सामग्रीहरुलाई डिस्इन्फेक्ट गर्नसक्छ ।
यो अत्यन्तै उपयोगी यु.भि.बक्स धरान १६ का कृषि ईञ्जिनियर प्रशन्न श्रेष्ठले तयार गरेका हुन् । उनले प्लाई उड प्रयोग गरेर फ्रिज आकारको यु.भि.बक्स तयार गरेका छन् । बक्स भित्र पनि फ्रिजमा सामान राख्ने जस्तै च्याम्बर(कोठा) तयार गरेका छन् । यो बक्स तयार गर्नको लागि आवश्यक पर्ने महत्वपुर्ण चिज यु.भि.ट्युब हो । जसको प्रकाश(लाइट)मा रेडिएसन हुन्छ, र त्यसले किटाणु मार्छ । यो ट्युब ल्याबहरुमा प्रयोग भएको हुन्छ ।
रेडिएसन बक्सबाट बाहिर नजाउन् र शरीरलाई हानी नपुगोस् भनेर मिरर फोइल प्रयोग गरिएको हुन्छ । तर, त्यो नपाउदा ईञ्जिनियर श्रेष्ठले एल्मुनियम फोइल प्रयोग गरेका छन् । मिरर फोइलभन्दा सस्तो र सहजरुपमा बजारमा पाइने उनले बताए । फोइलले ट्युबको प्रकाश अर्थात रेडिएसनलाई रिफ्लेक्ट गरेर चारै दिसा पुर्याउन मद्दत गर्छ । ‘लाइट भित्रबाट बाहिर आउदैछ । सामान राख्नुभन्दा अघि स्वीच अफ गर्ने, सामान राख्ने र कम्तीमा ३० सेकेण्ड अन गरेपछि स्वीच अफ गरेर सामान झिक्ने,’उनले भने,‘बक्स आफैमा सुरक्षित छ । डबल सुरक्षित हुन मास्क लगाउने, कालो चस्मा चलाउने र पिपिई लगाउदा झन् राम्रो हुन्छ । पिपिई नभए पनि सुरक्षित नै छ ।’
यो बक्स अस्पतालहरुको लागि अत्यन्तै उपयोगी हुने बताए । अहिले कोरोना संक्रमण आशंका गरिएकाहरुलाई मात्र केन्द्रीत भएर उपचार भइरहेको छ । तर, उनीसँगै आएका कुरुवा वा आफन्तहरुलाई भने त्यति ध्यान नदिएकोले यो बक्स उपयोगी हुने उनले बताए । ‘विरामीलाई मात्र ध्यान दिएका छांै, तर कुरुवा, आफन्त पनि हुन्छन् । उनीहरुलाई अस्पताल प्रवेश गर्नुअघि नै मास्क, पैसा, पर्स, मोवाइल लगायत सामान निकालेर डिस्इन्फेक्ट गर्ने र अस्पतालबाट जाने बेला पनि डिस्इन्फेक्ट गर्न यो उपायोगी हुन्छ,’श्रेष्ठले भने ।
यो बक्सलाई अझै उपयोगी बनाउन रिसर्च भइरहेको बताए । अस्पताल मात्र नभै बैंक, नगरपालिका कार्यालय, वडा कार्यालयमा यो यु.भि.बक्स उपयोगी हुने उनले बताए । पैसालाई एकै पटक ठुलो परिणाममा बक्सभित्र राखेर डिस्इन्फेक्ट गर्न सकिने उनले बताए । ‘आर्टिकल पढ्दा पैसा, पर्स, मोवाइलहरु ३० देखि ६० सेकेण्ड राख्दा डिस्इन्फेक्ट हुन्छ भन्ने छ,’श्रेष्ठले भने,‘यु.भि.ट्युब महंगो पर्छ । त्यो पनि यही बनाउन सकिन्छ कि भनेर रिसर्च हुदैछ ।’
उनलाई यो प्रविधि तयार गर्न नेप्लीज सोसाइटी अफ एग्रीकल्चर(एन.एस.ए.ई)ले सहयोग गरेको छ । नेपाल कृषि ईञ्जिनियर सोसाइटीका सचिवसमेत रहेका धरानको तीनकुनेस्थित पुर्वाञ्चल क्याम्पसका कृषि इञ्जिनियरीङ विभागका प्राध्यापक समगर काफ्लेले प्रशन्नले तयार गरेको यु.भि.बक्स अत्यन्तै उपयोगी भएको बताए । ‘उनले बनाएको प्रविधिलाई प्रयोग गर्न सकियो भने हामीले किन्ने तरकारी, खाद्यवस्तुहरु सुरक्षित छ भन्ने निश्चित हुन्छ,’उनले भने ।
तरकारीलाई डिस्इन्फेक्ट गर्ने यस्तो प्रविधि
युवा कृषि ईञ्जिनियर श्रेष्ठले तरकारीलाई ठुलो परिणाममा डिस्इन्फेक्ट गर्ने प्रविधिको नमुना डिजाइन पनि बनाएका छन् । यो खर्चिलो भएकोले सरकार, सम्बन्धित कृषि बजार वा स्थानीय तहबाट सपोर्ट भएमा डिजाइनलाई मुर्तरुप दिन सकिने उनको भनाई छ । भारतबाट धरान १३ स्थित कृषि बजारमा आउने तरकारीबाट कोरोना संक्रमण फैलन्छ भन्ने त्रास र हल्ला चलेपछि डिस्इन्फेक्ट गर्नुपर्छ भन्ने सोचले यो डिजाइन तयार भएको श्रेष्ठले बताए ।
‘कृषि बजार व सब्जी मण्डीमा नै ठुलो परिणाममा यु.भि.रेडिएसनमार्फत तरकारीलाई डिस्इन्फेक्ट गर्यौं भने सबैको घरमा सुरक्षित तरकारी पुग्छ,’उनले भने,‘यो प्रविधि अलिक खर्चालु भएकोले नमुना मात्र डिजाइन गरेको छुँ, कतैबाट सहयोग भयो भने बनाउन सक्छौं ।’ यो प्रविधि कोरोना संक्रमणको बेला मात्र नभएर अन्य रोगहरुको किटाणु मार्न पनि ज्यादै उपयोगी हुने उनले बताए ।