धरान: चार दिनअघि(जेठ ७) गते धरानको वडा नं १३ स्थित शिवधारा क्षेत्रमा एक महिला कोरोना भाईरस (कोभिड १९) संक्रमित पुष्टि भयो । त्यसपछि शिवधारा चोकदेखि संक्रमित महिलाको घर पुग्ने बाटो र आसपास क्षेत्र सिल गरिएको थियो ।
संक्रमण फैलिन नदिन अहिले उपमहानगरपालिका र वडा कार्यालयले संक्रमित महिलाको घर आसपास मात्र होइन, समग्र वडा नं १३ लाई नै सेनिटाइजेशन अर्थात निर्मलीकरण गर्न थालेको छ । यसको लागि वडा कार्यालयले हिजो ३ वटा आवश्यक पर्ने मेशिन खरीद गरेर ल्याएको पनि वडा अध्यक्ष नेत्र काफ्लेले जानकारी दिए । ‘संक्रमित भेटिएको कारणले वडाबासीहरुमा एकप्रकारको त्रास जस्तो पनि भयो, त्यसैले सबैलाई ढुक्क बनाउन र संक्रमण फैलन नदिनलाई पनि सेनिटाइज गर्दैछौं,’अध्यक्ष काफ्लेले भने,‘तीन दिनदेखि नै यो कार्य भइरहेको छ ।’
अध्यक्ष काफ्लेका अनुसार वडा कार्यालय र उपमहानगरपालिकाको टोलीले वडालाई सेनिटाइज गरिरहेको हो । अघिल्लो २ दिनमा संक्रमित महिलाको घर आसपास क्षेत्र र शिवधारा क्षेत्रलाई सेनिटाइज गरिएको थियो भने आज शनिबार अमरहाट, कृषि बजार र शिखर टोल क्षेत्रलाई सेनिटाइज गरिएको छ । भोली आइतबार देवी मार्ग क्षेत्रमा सेनिटाइज गरिने र क्रमशः वडाभरिको टोल, वस्तीमा गरिने अध्यक्ष काफ्लेले जानकारी दिए ।
भिडियो सौजन्यः गोपाल श्रेष्ठ