धरान: धरान १८ समाज हङकङले वडा कार्यालय १८ लाई आर्थिक सहयोग गरेको छ ।

१८ नम्बर वडाको कारोना राहत कोषमा नगद २ लाख ३१ हजार २ सय रुपैया एक सहयोग गरेको हो । शनिबार सहयोग रकम समाजका धरान प्रतिनिधि दया राई र धु्रव राईले वडाध्यक्ष प्रविण राईलाई हस्तान्तरण गरेका थिए । सहयोग रकम हङकङ वस्दै आइरहेका १८ वडाबासी महाप्रसाद राई, दिनेश लिम्वु, रन्जन राई र निरज राईको सक्रियतामा संकलन गरि पठाएको वडा १८ का अध्यक्ष प्रविण राईले जानकारी दिए ।

धरान १८ समाज हङकङ आधिकारिकरुपमा स्थापना हुन बाँकी रहे पनि प्रमुख अतिथि एवं धरानका मेयर तिलक राईले सहयोग कार्यक्रममार्फत समाजलाई आधिकारिकरुपमा मानेको बताए । उनले संस्थालाई राम्रो व्यवस्थापन गरेर अघि बढाउन जोडदिए । शिक्षा, खेलकुद, राजनीति लगायत गतिविधिमा अन्य वडा भन्दा अग्रस्थानमा रहे पनि अहिले १८ न. वडा पछि पर्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे । सबै मिलेर पहिले जस्तै १८ न. वडालाई सवै क्षेत्रमा अघि वढाउनु पर्ने मेयर राईले धारणा व्यक्त गरे ।

हालसम्म वडा १८ को राहत कोषमा ५ लाख हाराहारीमा रकम संकलन भइसकेको वडाध्यक्ष राईले जानकारी दिए । उपमहागरपालिकाले दिएको वाहेक वडाले कोषबाट दुई चरण गरेर विपन्न ३ सय ९४ परिवारलाई राहत वितरण गरिसकेको बताए । लकडाउन सुरु भएदेखि २३ हजार छाक खाना वीपी प्रतिष्ठानका विरामी कुरुवाहरुलाई खुवाएको पनि उनले बताए । साथै, सेनिटाइजर, पञ्जा र मास्क पनि वितरण गरिएको उनले बताए ।

यसैगरि, यही कोषबाट वडाका ६५ वर्ष माथिका वुद्धवृद्धालाई सुगर फ्रि हर्लिक्स घर घरमा नै पुगेर वितरण गर्ने तयारी गरिरहेको पनि वडाध्यक्ष राईले बताए । वृद्धवृद्धाहरुलाई पौष्टिक आहार चाहिने हुनाले उनीहरुलाई हर्लिक्स वितरण गर्न लागिएको उनको भनाई छ । कार्यक्रममा धरान १८ न. वडा सदस्य जमुना त्रिखत्री मोक्तान, वडा सदस्य टंक गुरुङ्ग, देविथान संरक्षण समिति सहसचिव वावाकाजी राई लगायतको उपस्थिति रहेको थियो ।