काठमाण्डौं: लकडाउनमा घरभित्रै बसिरहेका बेला आफ्नो गाउँको विषयमा निबन्ध लेखेर पुरस्कार जित्ने मौका आएको छ । त्यसका लागि ‘पर्यटन प्रर्वद्धन मञ्च, नेपाल’ले ‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको हो ।

मञ्चका संयोजक लिलाराम खड्काका अनुसार जुनसुकै उमेर समूहकाले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा सहभागी हुन नेपालभित्रका जुनसकै गाउँको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक र सामाजिक पक्ष समेटेर १ हजार शब्दसम्मको निबन्ध [email protected]  मार्फत जेठ २० गतेभित्र पठाउनु पर्नेछ ।

‘निबन्धका साथमा गाउँको प्रकृति, संस्कृति र जीवनशैली झल्कने कम्तिमा ३ वटा तस्बिर हुनु पर्नेछ’, खड्का भन्छन्, ‘इमेलमा प्राप्त हुने निबन्धबाट छानेर उत्कृष्ट तीन निबन्धलाई ७ हजार रुपैयाँका दरले पुरस्कृत गर्नेछौं ।’ मञ्चले जेठ २५ गते उत्कृष्ट निबन्धको घोषणा गर्नेछ ।

‘पर्यटकीय संभावना भएर पनि ओझेलमा परेका गाउँ/ठाउँको सम्भावना उजागर गर्न हामीले प्रतियोगिता गरेका हौं’, उनले भने, ‘हिमाल, पहाड र तराई सबैतिर पर्यटकीय संभावना भएका थुप्रै ठाउँ छन् । त्यस्ता ठाउँलाई हामी चर्चामा ल्याउने छौं ।’ पर्यटनमा विगत एक दशकदेखि समर्पित तन्नेरीहरूको संस्था हो पर्यटन प्रवद्र्धन मञ्च । यसले प्रतियोगिताबाट उजागर हुने गाउँहरूको पर्यटन विकासमा पनि सहयोग पुर्याउने जनाएको छ ।