धरान: सरकारले आगामी वर्षबाट काँकडभिट्टा–इनरुवा–विराटनगर रेलमार्ग निर्माणसहितको योजनाको लागि ८ अर्ब बढी बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले संसदमा आगामी आर्थिक बर्ष २०७७, ०७८ को बजेट प्रस्तुत गर्दै रेलमार्गहरुको निर्माणको लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन गरेको जानकारी दिए । उनका अनुसार आगामी बर्ष काँकडभिट्टा–इनरुवा–विराटनगर खण्डको रेलमार्ग निर्माण शुरु हुनेछ । यो रेलमार्ग करिब १०६ किलोमिटर लामो छ । इनरुवादेखि काँकडभिट्टा खण्डको डीपीआर पनि तयार छ ।

यो बजेट पूर्व–पश्चिम रेलमार्ग निर्माणको लागि पनि हो । सरकारले चालु आर्थिक वर्षमा ७ अर्ब ७० करोड बजेट विनियोजन गरेको थियो । रेल विभागले पूर्व–पश्चिम रेलमार्गको एउटाबाहेक सम्पूर्ण खण्डको डीपीआर तयार गरिसकेको जनाएको छ । यस्तै, हाल पूर्व–पश्चिम रेलमार्गअन्तर्गत बर्दिवास–निजगढ खण्डमा रेल्वे ट्रयाक निर्माण भइरहेको छ ।

बुटवलदेखि गड्डाचौकीसम्म चार सय २१ किलोमिटरको डीपीआर तयार भएको छ भने नवलपरासीको चोरमारादेखि बुटवलसम्मको डीपीआर पनि बनेको छ । निजगढबाट हेटौंडाहुँदै नवलपरासीसम्मको खण्डको डीपीआर निर्माणको चरणमा छ । एक वर्षभित्र यो खण्डको पनि डीपीआर तयार भइसक्ने दाबी विभागको छ ।