धरान: भात पकाउदै गरेको चामल डल्ला पार्दा उफ्रिएपछि कतै प्लाष्टिकको हो कि भनेर हिजो धरान १८ वडा कार्यालयमा बुझाइएको चालम प्लाष्टिकको नभएको पुष्टि भएको छ ।
खाद्य गुण तथा नियन्त्रण कार्यालय इनरुवाको खाद्य विज्ञ बोलाएर धरान उपमहानगरपालिकाले आज उक्त चामलको परीक्षण गरेको थियो । परीक्षणबाट चामल प्लाष्टिकको नभएको पुष्टि भएको विज्ञ विक्रम लिम्बुले बताए । उनका अनुसार चामल प्लाष्टिकको हो कि होइन भनेर घरमा नै जो कोहीले सजिलै परीक्षण गर्न सक्छन् ।
‘चामल प्लाष्टिकको हो कि होइन भनेर थाह पाउन अलिकति चामल चपाउदा नै थाह पाइन्छ । प्राकृतिक चामलको स्वाद र प्लाष्टिकको चामलको स्वाद अलग हुन्छ । प्लाष्टिकको चामल चपाउनै सकिदैन,’उनले भने,‘गिलासमा पानी भरेर चामल हाल्दा प्लाष्टिकको भए तैरिन्छ, प्राकृतिक चामल भए गिलासको पिधमा बस्छ ।’
यस्तै, आयोडिन मिसाएर पनि चालम परीक्षण गर्न सकिने उनले बताए । आयोडिन हाल्दा सुरुमा आयोडिनको रङ्ग ‘गोल्डेन ब्राउन’ हुने र हालेको केही समयपछि ‘लाइट ब्राउन’ हुदा प्लाष्टिकको नभएको प्रमाणित हुने बताए । चामल डढाउदा पनि प्लाष्टिक भए सोही अनुसारको गन्ध आउने उनले बताए ।
हिजो धरान १८ शिवमार्गकी गीता राईले भात पकाउदै गर्दा कुकरको सिठी लागेपछि हेर्दा भातको सिता उफ्रिएपछि अचम्मित हुदै वडाअध्यक्षलाई खबर गरेकी थिइन् । पछि उनले चामलको बोरा, कुकरमा पकाएको भातसहित वडाअध्यक्ष प्रविण राईलाई नै जिम्मा दिइन् । अध्यक्ष राईले नै उपमहानगरपालिकामा खबर गरेर आवश्यक जाँचको व्यवस्था भएको हो ।