धरान: कोरोनाको महामारीबाट अहिले संसारभर नै अधिकांश देशहरु अछुतो रहन सकेका छैनन् ।
नेपालमै पनि ८ जनाको मृत्यु भैसकेको छ भने संक्रमितको संख्या दिनहुँ बढीरहेको छ । कोरोनाको औषधी वा खोप बनिसकेको छैन । यस्तो महामारीको बेला पनि आफ्नो ज्यानको कुनै पर्वाह नगरी खटिने स्वास्थ्यकर्मीहरुप्रति सम्मान गर्दै शिव लामिछाने शिवाजले गीत रिलिज गरेका छन् । केही दिन अघि स्वास्थ्यकर्मीहरुलाई घरबेटीले आफू संक्रमित नभएको पुष्टि गर्नु पर्ने समाचार पनि आएको थियो । गायक लामिछानेले यो घटनप्रति दुःख मान्दै प्रकट गर्दै 'अस्पतालको वार्डमा फुल्ने तिमी सुनाखरी' बोलको गीतलाई नर्स गीतको रुपमा युट्युब मार्फत रिलिज गरेका छन् ।
गायक लामिछानेले अहिलेको परिस्थिति संगसंगै आफ्नो एउटा पुरानो अस्पतालको घटनालाई पनि उनले यस गीत मार्फत सम्झने प्रयास गरेका छन् । आफ्नो एपेन्डिक्स्को सर्जरी भएको बेला डाक्टर तथा बिशेष गरी नर्सहरुले गरेको सेवा भावना स्मरण गर्दै उनले अहिले कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीहरुबारेको नकरात्मक खबरले दुःखी बनाएको बताउछन् । 'यस्तो विषम परिस्थितिमा पनि आफ्नो परिवार ,आफ्नो ज्यानको सुरक्षा केही नहेरी अग्रपंक्तिमा रहेर काम गर्नु हुने सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई हौसला दिनु पर्छ, यही ठानेर यो गीत समपर्ण गरेको छुँ,'गायक लामिछानेले भने । गीतको रचना गोपाल देवानको रहेका छ भने संगीत न्ह्यु बज्राचार्य र संगीत संयोजन गोपाल रसाइलीको रहेको छ ।