धरान: कोरोना संक्रमणको उच्च जोखिम भएकोले धरानबाहिरबाट दुध, तरकारीलगायत खाद्यान्न आयातमा पुर्णरुपमा रोक लगाइएको छ ।

आज धरान उपमहानगरपालिकामा बसेको स्थानीयस्तरको सुरक्षा संयन्त्र बैठकले यस्तो निर्णय गरेको हो । छिमेकी जिल्ला उदयपुरमा १२ जना कोरोना संक्रमण पुष्टि भएको र शंकास्पद व्यक्तिहरु वीपी प्रतिष्ठानमा चेकजाँचमा आउने भएकोले संक्रमण फैलनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा सतर्ककताको लागि बैठक बसिएको उपमेयर मञ्जु भण्डारी सुवेदीले जानकारी दिइन् । उनका अनुसार छिमेकी नगरबाट आउने दुध, तरकारीजन्य वस्तुहरु आउन नदिने निर्णय भएको छ । ‘सुरक्षित रहनको लागि धरानबाट बाहिरबाट आउने तरकारी, दुधलाई लक गर्ने निर्णय गरेका छौं, तर धरानभित्रैबाट आउने तरकारीलाई किसानहरुले डोको ल्याएर बेच्नलाई बिहानको समय छुट दिने निर्णय गरेका छौं,’उनले भनिन्,‘अरु एम्बुलेन्सबाहेक सबै सवारी, मान्छे आवातजावत बन्द गर्ने निर्णय भएको छ ।’

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले हिजो साँझबाट नै चार वटा प्रमुख नाकामा चेकजाँच कडा गरिएको बताए । ती मध्ये पनि उदयपुरबाट आउने चतराबाट आउने नाका थप गएिको छ । जिल्ला प्रशासनको पास भएका व्यक्ति मात्र प्रवेश गर्न पाउनेछन् । धरानबाहिरबाट आउने तरकारी, दुधजन्य वस्तुहरु रोक लगाइएको भएपनि धरानमा रहेका अनुमति पाएको डिपार्टमेनट स्टोर र अर्गानिक फर्मलाई भने होम डेलिभरी गर्न छुट दिने निर्णय भएको पनि डिएसपी न्यौपानेले जानकारी दिए । ‘तरकारी धरानबाहिरबाट आउनेलाई प्रवेश गर्न दिदैनौं, तर धरानभित्रैको स्थानीय उत्पादनहरु डोकोमा वा होम डेलिभरी गर्न दिन्छौं । तर तरकारी पसल खुल्न दिदैनौं,’उनले भने,‘धरान बाहिर आउने दुध एकमुष्ट संकलन भएर एउटै गाडीमा आए मात्र दिन्छौं ।’ बैठकले खाद्यान्न पसल बिहान ९ बजेसम्म खुल्न दिने पनि निर्णय गरेको छ ।

बैठकमा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रशासकीय अधिकृत विदुर खनाल, इलाका प्रशासन कार्यालयका प्रमुख चन्द्रबहादुर कार्की सहभागी थिए । यस्तै, डिएसपी ढुण्डीराज न्यौपाने, सशस्त्र प्रहरीका डिएसपी राजेन्द्र श्रेष्ठ, सैनिक आावसिय विद्यालयका शैलेन्द्र सिलवाल, कृष्णदल गण फुस्रेका रञ्जित केसीलगायत सहभागी थिए ।