धरान: प्रदेश एक सरकारले आगामी आर्थिक बर्षमा कोभिड १९ महामारीबाट क्षति था नोक्सानी व्यहोर्नुपरेका किसानहरुको लागि ४५ करोड बराबरको राहत प्याकेज उपलब्ध गराउने घोषणा गरेको छ ।

आज शुक्रबार प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो राहत प्याकेजको घोषणा गरेको हो । किसान परिवारलाई नोक्सानीको आधारमा राहत स्वरुप ४५ करोड रुपैया बराबरको राहत प्याकेज उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै, सरकारले प्रदेशको जिल्लास्थित अस्पतालहरुलाई आइसोलेसन वार्डसहित १०० शैयाको क्षमतामा स्तरोन्नती गर्ने पनि जनएको छ । आवश्यक पुर्वाधार भएको जिल्ला अस्पतालमा कम्तीमा ४ वटा भेन्टिलेटरसहित आवश्यक चिकित्सकसहित जनशक्तिको व्यवस्था मिलाउने पनि सरकारले जनाएको छ । साथै, सरकारले धनकुटाको जिल्ला अस्पताललाई ६ वटा भेन्टिलेटरसहित बहु बिशिष्ट प्रादेशिक शिक्षण अस्पतालकोरुपमा स्तरोन्नती गर्दै लैजाने पनि घोषणा गरेको छ ।

यसैगरि, सरकारले सबै नागरिकहरुलाई स्वास्थ्य विमाको दायरामा ल्याउने जनाएको छ भने १३७ वटै पालिकाहरुमा बहुपक्षीय पोषणको कार्यक्रम वैदेशिक सहयोग समेत परिचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । ज्येष्ठ नागरिकहरुलाई प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम सबै पालिकाहरुमा सञ्चालन गर्ने, डिटिटल हेल्थ तथा टेलमेडिसिन सेवाको पहुँच प्रदेशभर विस्तार गर्ने पनि सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

यस्तै, इन्टरनेट सेवाको पहुँचले सबै शैक्षिक संस्थाहरुलाई जोड्ने घोषणा गरेको सरकारले सामुदायिक विद्यालयहरुमा ई एजुकेशनको पुर्वाधार विकास तथा विद्यालय नर्स सेवा विस्तार गर्दै लगिने पनि जनाएको छ ।प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रको सेयर सहभागितामा कृर्षिमा स्नातक तथा स्नातकोत्तर तह पठनपाठन गराउने कलेज, क्याम्पस स्थापाना गरेर कृषि जनशक्तिको व्यवस्थापन गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।