धरान: धरानका रंगकर्मीहरुको सपना हो, व्यवस्थित र आधुनिक नाटक घर । उनीहरुको यो सपना पुरा हुने तरखरमा थियो ।

कला, साहित्यको उर्बर भुमी धरानमा एउटा रंगमञ्च नहुनु विडम्बना थियो । चालु आर्थिक बर्षमा संघीय सांसद जयकुमार राईले ४० लाख बजेट विनियोजन गरिदिएका थिए । त्यसैले धरानका रंगकर्मीहरुले पहल समिति बनाएर नाटक घर निर्माणको अभियान थाले । उपमहानगरपालिकाले धरान ८ स्थित सभागृहको दक्षिणीतर्फको खाली २ कट्ठा जग्गामा नाटक घर बनाउन दिने भयो । कार्यपालिका बैठकबाट नै यो एजेण्डा पास भयो ।

अहिले पुनः नाटक घर निर्माणमा अवरोध सृर्जना भएको छ । आज र भोली सफाई गर्ने र पर्सि सांसद राईबाट शिलान्यास गर्ने कार्यक्रम थियो । सरसफाई गर्ने पुगेकाहरुलाई स्थानीय आएर रोकेको रंगकर्मी अरुण प्रधानले जानकारी दिए । ‘स्थानीयहरु आएर हामी भोली नगरपालिका डेलिगेशन जादैछौं, केही नगर्नुस् भनेर रोके,’उनले भने,‘हामीले शुरुवातमा वडाअध्यक्षसँगै कुरा गरेका थियौं, अहिले वडाअध्यक्ष नै पनि विरोधमा छन् भन्ने सुनियो ।’ उनका अनुसार नाटक घर अन्तराष्ट्रियस्तरको हुनेछ । नाटक घरको डिपिआर तयार भइरहेको छ । करिब ५ करोड लागत अनुमान गरिएको नाटक घर विदेशबाट पनि बजेट ल्याएर निर्माण गर्ने धरानका रंगकर्मीहरुको योजना छ । 

नाटक घर निर्माणमा केही स्थानीय र वडा नं ८ का १४ वटा टोल विकास संस्था(टिएलओ) विरोधमा देखिएका छन् । टिएलओहरुको बैठकले नाटक घर भएको ठाउँमा चिल्ड्रेन पार्क बन्नुपर्ने माग राखेको बताइएको छ । तर, वडा नं ८ का एक जनप्रतिनिधि भने टिएलओ र स्थानीयलाई वडा अध्यक्ष रुद्रबहादुर लिम्बुले भित्रिरुपमा उचालेको बताउँछन् । ‘कार्यपालिका बैठकमा निर्णय भएको कुरालाई अहिले वडाअध्यक्षले नै हुदैन भन्दै टिएलओहरुलाई विरोध गर्न लगाउदैछ,’ती जनप्रतिनिधि भन्छन्,‘हिजोआज अध्यक्ष कार्यपालिका बैठकमा पनि जादैन, र अरु कसैलाई पनि पठाउदैन । ज्यादै समस्या भइरहेको छ ।’ वडाअध्यक्ष लिम्बुसँग सम्पर्क गर्ने प्रयास गर्दा हुन सकेन ।

स्थानीयस्तरमा एक संघर्ष समिति पनि गठन भएको छ । समितिका संयोकज नन्द राईका अनुसार नाटक घरको बिषयमा भोली आइतबार उपमहानगरपालिकामा डेलिगेशन जाने तयारी छ । उपमहानगरपालिकाले स्थानीयसँग छलफल नगरी पेलेर जाने भएपछि समस्या भएको उनको बुझाई छ । ‘पहिलो फुटबल मैदान मासेर सभागृह बनाउन हुदैन भनेर पनि विरोध भएकै हो । अहिले पनि चिल्ड्रेन पार्क बन्नुपर्छ भन्ने स्थानीयको माग छ,’उनले भने । नाटक घरको विपक्षमा वडाअध्यक्ष आफै पनि भएको र स्थानीय युवाहरुको जिम हल बन्नुपर्छ भन्ने माग पनि रहेको उनले बताए ।