धरान: नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरीले जुम एप्लिकेशन मार्फत डिजिटल बैठक सम्पन्न गरेको जनाएको छ ।
१ नं. प्रदेश सभाका संसदीय दलका नेता तथा सुनसरी सभापति राजिव कोइरालाको अध्यक्षतामा भच्र्युअल बैठक भएको हो । बैठकले कोभिड १९ को महामारी जनस्वास्थ्य र राहत, संविधान संशोधन, एमसीसी, पार्टीको आगामी महाधिवेशन, केन्द्र, प्रदेश र स्थानीय तहको बजेट, नीति तथा कार्यक्रम, शैक्षिक क्रियाकलाप, रुकुम घटना, धरानको खानेपानी आयोजना लगायत राष्ट्रिय तथा स्थानीय समसामयिक बिषयहरुमा गहन छलफल तथा निर्णयहरु गरेको जिल्ला प्रवक्ता एवम् सचिव सुजेन्द्र गोलेले जानकारी दिए । लक डाउनका कारण दुई महिनादेखि जिल्ला कार्यसमितिको बैठक बस्न नसकेकोले प्रविधिको सदुपयोग गर्दै डिजिटल बैठक आयोजना गरिएको सभापति कोइरालाले बताए ।
बैठकको सहजीकरण जिल्ला सचिव केदार भण्डारी र जिल्ला सदस्य विरेन्द्र साहले गरेका थए । बैठकमा सांसद सिताराम मेहता, वरिष्ठ नेता प्रदिप चौधरी, उपसभापतिद्धय संजयप्रसाद श्रेष्ठ र हरिलाल मेहता, प्रवक्ता गोले, सहसचिव नगेशचन्द्र राई, जिल्ला सदस्यहरु गोविन्द विश्वकर्मा, निलकुमारी गिरी, विमला ढकाल, दिपेशजंग बस्नेत, रुपा कार्की, अलिम अन्सारी, रमला तामाङलगायत सहभागीहरुले आआफ्नो धारणा राखेका थिए ।







