धरान: दलित समुदायको मुद्दाको बिषयमा एक दिने खोज पत्रकारिता तालिम धरानमा सम्पन्न भएको छ ।
पिस मिडिया ग्रुप धरानको आयोजनामा शनिबार होटल सेक्षमा दलित मुद्दामा खोज पत्रकारिता बिषयक एक दिने तालिम भएको हो । अझै पनि दलित भएकै कारण विभेदमा पर्ने र ज्यान गुमाउनुपर्ने पछिल्लो घटनाहरु सार्वजनिक भइरहदा धरानमा दलित मुद्दामा खोज पत्रकारिता तालिमको आयोजना भएको हो । राष्ट्रिय दलित पत्रकार संघका जिल्ला अध्यक्ष एवं आयोजक दिनेश गजमेरले विभेद यथावत रहेकोले सोही विषयमा केन्द्रित भई तालिम आयोजना गरिएको बताए । विभेदका पछिल्ला घटनाहरुसंगै दलित समुदायका अन्य मुद्दाहरूको बिषयमा जानकार हुन र बिषय उठान कसरी गर्ने भन्ने सचेतनको लागी तालिमको आयोजना गरिएको गजमेरले बताए ।
प्रदेश सभाकी सांसद उमिता बराईलीले दलितको मुद्दाको बिषयमा अब खोज पत्रकारिता आवश्यक भएको बताइन् । संविधानमा विभेद हटाउन कानुन बनेपनि पालना हुन नसकेको उनको भनाई थियो । दलित समुदायको समस्या समग्र राष्ट्रकै समस्या भएको भन्दै उनले परिवेश वदल्न पत्रकारहरुले खोज पत्रकारिता गर्न आवश्यक भएको बताए । विभेद अन्त्य गर्नको लागि कानुन बनेको छ, तर बाध्यकारी अवस्था निर्माण नगरेसम्म परिवर्तन नहुने देखिन्छ, उनले भनिन्,यो एउटा समुदायको मात्र नभएर समग्र राज्यको हो ।
राष्ट्रिय दलित पत्रकार संघ प्रदेश १ का सचिव रणध्वज लोहारले दलित युवाहरू पछिल्लो समय पत्रकारिताबाट पलायन हुँदै गएकोमा चिन्ता व्यक्त गरे । उनले दलित पत्रकारहरू संगठित भई पेशागत विकासका लागी विभिन्न कार्यक्रमहरूको आयोजना गरी युवाहरूलाई पत्रकारितामा ल्याउन संघले प्रोत्साहन गर्ने पनि बताए । तालिमका सहजकर्ता एवं पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य गणेश लम्साल रहेका थिए । उनले पत्रकारितामार्फत दलित विभेदका बिषयलाई कसरी उठाउने भन्ने बिषयमा तालिममा सचेतना दिइने बताए ।







