धरान: धरान उपमहानगरपालिका वडा नं ९ का व्यापारीहरुले बिहान र दिउँसो २ सिफ्ट गरेर नभै सबैलाई एकै समयमा दिउँसो २ बजेसम्म बजार खोल्न दिइनुपर्ने माग गरेका छन् ।

उनीहरुले ९ नम्बर वडा कार्यालयमा लिखित माग पत्र पनि बुझाएका छन् । बिहान र दिउँसो अलग अलग समयमा बजार, पसल खोल्दा उपभोक्तालाई पनि मर्का परेको भन्दै उनीहरुले एकै समयमा बजार खोल्ने वातावरण बनाउन माग गर्दै वडा कार्यालयलाई आवश्यक पहलको लागि आग्रह गरेका छन् । व्यापारीहरुले वडा अध्यक्ष रत्नबहादुर कटुवाललाई माग पत्र पेश गरेका थिए । अहिले बिहान ६ बजेदेखि १० बजेसम्म तरकारी, खाद्यान्न, माछा, मासुलगायत कुहिने वस्तुहरुको पसल खोल्ने दिइएको छ । यस्तै, ९ बजेदेखि दिउँसो २ बजेसम्म अन्य जुत्ता, चप्पल, कपडा, हार्डवेयरलगायत पसलहरु खोल्न दिइएको छ ।

दुई समयमा पसल खोल्नुपर्दा उपभोक्ताहरु पनि किनमेल गर्न २ पटक नै आउनुपर्ने बाध्यता भएको व्यापारी यज्ञबहादुर वनले बताए । साथै, बिहान खाना खाने समयमा पसल खोल्ने समय तोकिएकोले पनि अव्यवहारिक भएको भन्दै उनले एकै समयमा दुवै पसल खोलिनुपर्ने माग गरे । ‘उपभोक्ताहरु तरकारी र अन्य सामानहरु एकै पटक किन्न पाउने वातावरण बनाउनुपर्छ । अहिले तरकारी, खाद्यान्न एक समयमा र अन्य पसल अर्को समय खोल्दा उपभोक्ताहरुलाई पनि हैरानी भइरहेको छ,’उनले भने ।

 व्यापारीहरुले लिखित मागमा बिहान ६ बजदेखि दिउँसो २ बजेसम्म सबै पसल एकै समय खोल्ने वातावरण बनाउन माग गरेका छन् । तर, मौखिकरुपमा भने व्यापारीहरुले बिहान ६ बजेदेखि ११ बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुकी ६ बजेसम्म पसल खोल्नु उपयुक्त हुने धारणा व्यक्त गरेका थिए । ‘अहिले दिउँसो प्रचण्ड गर्मीको अवस्था छ, त्यसैले बिहान र बेलुकीको समय एकै पटक सबै पसल खोल्ने वातावरण हुनुपर्छ,’वनले भने ।

वडा ९ का अध्यक्ष कटवालले व्यापारीहरुको माग र गुनासो उपमहानगरपालिकामा पठाउने बताए । उनले पनि दैनिक उपभोक्ता वस्तुको एउटा समय र अरु सामानको पसल अर्को समय खोलिदा उपभोक्ताहरुलाई पनि किनमेलमा समस्या भइरहेको स्वीकार गरे । ‘व्यापारीहरुको यो माग लिखितरुपमा नै सम्बन्धित निकाय उपमहानगरपालिकामा पठाउनेछुँ’उनले भने ।

wada-9ko wada-9-ko1