धरान: आजदेखि धरानमा लकडाउन खुकुलो भएको छ । बजार खुलेको छ भने धरानभित्रै सवारीसाधनहरुको आवागमन पनि बढेको छ ।
हिजो धरान उपमहानगरपालिका र सुनसरी उद्योग वाणिज्य संघबीच समय तालिका बनाएर बजार खोल्ने सहमति भएको थियो । सहमति वमोजिम आज धरान बजार खुलेको हो । यद्यपी, ब्युटी पार्लर, सैलुन, होटल तथा रेष्टुरेष्टहरु भने बन्द नै छन् । सामाजिक दुरी कायम नहुने भन्दै यी व्यवसाय भने नखोल्ने निर्णय भएको थियो । विगतमा नै कुहिने वस्तुहरुको पसल तरकारी, खाद्यान्न, माछा, मासुलगायत बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्ने निर्णय भएको थियो भने अन्य कपडा, हार्डवेयर, सुनचादी, पुस्तक पसल, जुत्ता चप्पललगायत पसहलरु बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म खोल्ने निर्णय भएको थियो ।
बैठकले टेम्पो, सफारीलगायत सामाजिक दुरी कायम नहुने सवारीसाधनहरु भने सञ्चालन हुन नदिने निर्णय गरेको थियो । तर, अहिले धरानमा उक्त निर्णय विपरीत टेम्पो, सफारीहरु पनि सञ्चालन भइरहेको छ । उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई पसलहरु खोल्दा १ मिटरको सामाजिक दुरी कायम गर्न आह्वान गरेको छ । यस्तै, पसलभित्र भिड कम गर्नको लागि ढोका वा सटरमा डोरी लगाउन, पसलमा बस्ने व्यवसायी तथा कर्मचारीहरुले अनिवार्य मास्क र पञ्जा प्रयोग गर्न संघले आग्रह गरेको छ । यसैगरि, ग्राहकको लागि हात धुन पानी, साबुन, तौलिया वा सेनिटाइजर राख्न र नगद कारोबार गरेपनि सेनिटाइजर प्रयोग गर्न पनि संघले आग्रह गरेको छ ।