धरान: धरानमा निर्माण हुने भनिएको प्रादेशिक नाटक घरको विवाद समाधानतर्फ उन्मुख भएको छ ।

धरान ८ स्थित सभागृह क्षेत्रमा निर्माण हुन लागेको नाटक घरबारे स्थानीयबासीबाट विरोध हुन थालेपछि आज(मंगलबार) बिहान धरान उपमहानगरपालिकाको पहलमा रंगकर्मी र स्थानीयबासीसहितको वृहत छलफल भएको थियो । उक्त छलफलमा ठोस निर्णय नभएपनि विवाद सहमतितर्फ उन्मुख भएको छ । सभागृह परिसरको दक्षिणतर्फ खुला रहेको मैदानको पुर्वतर्फको कुनामा करिब २ कट्ठा जग्गामा अत्याधुनिक नाटक घर बनाउने निर्णय नगर कार्यपालिका बैठकले गरेको थियो । यो निर्णयसँगै वडा नं ८ का टोल विकास संस्था र स्थानीयबासीहरुले विरोध जनाउदै उक्त जग्गालाई खुलारुपमा नै राख्न माग गरिरहेका छन् ।

स्थानीयबासीले संघर्ष समिति नै गठन गरेर उक्त जग्गामा पार्क बनाउनुपर्ने प्रस्ताव गरेका छन् । यही बिषयमा मंगलबार मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीसहित छलफल भएको थियो । मेयर राईले नाटक घर सहमतिमा बन्ने गरी छलफल अघि बढेको प्रतिक्रिया दिए । क्लिकधरानसँग उनले स्थानीयबासीको भावनालाई पनि कदर गर्दै र रंगकर्मी एवं उपमहानगरपालिकाको आवश्यकतालाई पनि ध्यान दिदै सहमतिबाट नै नाटक घर निर्माण हुने उनले बताए ।

savagriha1

‘स्थानीयबासीले स्वामित्व, सञ्चालन र व्यवस्थापनको बिषयमा चासो राख्नु भएको छ । सभागृह लथालिङ्ग भयो, राती १२, १ बजेसम्म त्रसित हुने गरि कार्यक्रम भयो भन्ने गुनासो छ,’मेयर राईले भने,‘वडा र टोलबासीको अपनत्व हुने गरी र उहाँहरुको माग अनुसार खुला ठाउँ रहने गरि सहमतिबाट नै निर्माण कार्य अघि बढाइन्छ ।’ मेयर राईले भनेजस्तै मंगलबार छलफल पछि स्थानीयबासीसहित नाटक घर निर्माण हुने जग्गाको अवलोकन पनि भएको थियो । सो क्रममा स्थानीयले भनेजस्तै मैदान सफा गरिदिने र खुला रहने मेयर राईले लिखितरुपमा प्रतिवद्धता जनाउने बताएका थिए । स्थानीयबासीहरुले पनि सकरात्मक धारणा राखेका थिए ।

फुटबल मैदान मासेको भन्दै असन्तुष्टी

sava-griha

छलफलको क्रममा स्थानीयबासीले विगतमा पनि फुटबल मैदान मासेर सभागृह बनाए पनि उपयोग हुन नसकेको र लथालिङ्ग गएको भन्दै चर्को असन्तुष्टी प्रकट गरेका थिए । द राईजिङ स्पोटिङ क्लबका युवाहरुले पनि नेपालकै चर्चित खेलाडीहरु उत्पादन गरेको मैदान मासिएको भन्दै असन्तुष्टी जनाएका थिए । उनीहरुले अहिले खेलाडीहरुले अभ्यास गर्ने ठाउँ पनि नपाएको भन्दै सभागृहको दक्षिणी जग्गालाई खुलारुपमा नै राखेर कुनै भौतिक संरचना निर्माण नगर्न आग्रह गरेका थिए ।

स्थानीय महिलाहरुले पनि सभागृहमा राती अबेरसम्म ठुलो आवाज आउने गरी कार्यक्रम हुने र राती डिस्टर्ब हुने गरेको भन्दै अन्य कुनै संरचनाहरु बनाउन नहुने धारणा राखेका थिए । संघर्ष समितिका संयोजक नन्दराज राईले स्थानीयबासी र टिएलओहरुको राय, सुझावको आधारमा अघि बढ्ने धारणा राख्दै स्थानीयलाई बाइपास गरेर आउने योजनाहरु स्वीकार्य नहुने बताएका थिए ।

निर्माण र अनुगमनमा स्थानीयको सहभागिता सुनिश्चित, बाँकी जग्गा खुला राखिने

savagriha3

स्थानीयबासी एवं युवाहरुको धारणा सुनिसके पछि मेयर राई र उपमेयर भण्डारीले नाटक घरको महत्वबारे प्रष्ट पार्दै निर्माण र अनुगमनमा स्थानीयबासीको सहभागिता सुनिश्चित हुने प्रतिवद्धता जनाएका थिए । मेयर राईले लकडाउनको कारण पर्याप्त छलफल हुन नसकेको स्वीकार गर्दै २ कट्ठा मात्र जग्गा उपयोग गरिने र बाँकी सबै स्थानीयबासीको माग अनुसार खुला पार्ककोरुपमा राखिने पनि बताए । धरान खेलकुद, कला, साहित्य र सँस्कृतिको सहर भएकोले नाटक घर आवश्यक भएको उनले बताए ।

उपमेयर भण्डारीले पनि नाटक घर आवश्यक भएको र यो कुनै संस्थाको नभै उपमानगरपालिकाकै स्वामित्वमा रहने गरि निर्माण हुन लागेको प्रष्ट्याएकी थिइन् । उनले विगतमा योजनाहरु आएर पुर्णता नपाउदा स्थानीयबासीहरुमा आशंका भएको तर अहिले लगानीको सुनिश्चितता हुने गरी काम अघि बढाउने बताइन् । उनले पनि स्थानीयबासीको माग अनुसार खुला पार्क पनि निर्माण गर्ने बताइन् ।

धरानमा निर्माण हुन लागेको प्रादेशिक नाटक घरको लागत अनुमान ५ करोड रहेको छ । नाटक घरको प्रारम्भिक नक्सा डिजाइन तयार भएको छ भने डिपिआर पनि तयार हुदैछ । चालु आर्थिक बर्षमा संघीय सांसद जयकुमार राईले ४० लाख बजेट विनियोजन गरिदिएका छन् । तत्काल निर्माण कार्य अघि नबढाए यो बजेट फ्रिज हुने सम्भावना बढेको छ ।