धरान: नेकपा एमाले धरान उपमहानगर कमिटीले जेन्जी आन्दोलनको क्रममा पार्टी कार्यालयमा भएको तोडफोड र आगजनी घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि कडा कानुनी कारबाही गर्न माग गरेको छ ।
एमालेका अध्यक्ष हर्कजङ्ग एभेङले आज (सोमबार) प्रेस विज्ञप्ती जारी गर्दै तोडफोड र आगजनीमा संलग्नहरुको पहिचान खुलेकोले उनीहरुलाई पक्राउ गरि कारबाही गर्न माग गरेका छन् । एभेङले प्राप्त फोटो र भिडियो प्रमाणको आधारमा पत्रकार बिमल शाक्यसहित मिलन बान्तवा राई र दिपचन्द्र राई (कान्छी) उक्त घटनामा प्रत्यक्ष संलग्न रहेको पुष्टि भएको पनि विज्ञप्तीमा खुलाएका छन् । उनीहरुलाई पक्राउ गरि कानुनी कारबाही र क्षतिपूर्ति तिराउन पनि सरकारसँग एमाले धरानले माग गरेको छ ।
शान्तिपुर्ण आन्दोलनको नाममा घुसपैठ गरेर पार्टीलाई कमजोर बनाउने षडयन्त्र अन्तर्गत केही प्रतिगामी तत्वहरुले योजनावद्धरुपमा पार्टी कार्यालयमा आगजनी गरेर ठुलो क्षति पुर्याएको पनि एमाले धरानले जनाएको छ ।
यसैगरि नेपाली कांग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालय, भाटभटेनी सुपरमार्केट, एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारी, प्रदेश सदस्य जयकुमार राई, पुर्वमेयर मनोजकुमार मेन्याङ्बो, कार्यपालिका सदस्य सृर्जना नेपाल, कांग्रेस नेता उमेश थापा र सुजेन्द्र तामाङको घरमा भएको आगजनी घटनाहरुको पनि एमाले धरानले घोर निन्दा र भत्र्सना गरेको छ ।
सबै घटनाहरुको सत्यतथ्य छानबिन गरेर संलग्न सबैलाई कानुन बमोजिम कारबाही गर्न र पीडितहरुलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि एमाले धरानले सरकारसँग माग गरेको छ ।