धरान: धरान ८ सभागृहमा निर्माण गरिने प्रादेशस्तरको नाटक घर निर्माणको प्रारम्भिक नक्सा तयार भएको छ ।

यो आर्थिक बर्षमा निर्माण शुरु गर्न लागिएको नाटक घरको डिपिआर भने कलाकार बिक्रम श्रीले तयार गर्दैछन् । हाल प्रारम्भिक नक्सा मात्र तयार भएको र लागत अनुमानित ५ करोड रहेको रंगकर्मी नविन मेन्याङ्बोले जानकारी दिए । ‘प्रारम्भिक नक्सा तयार भएको छ, नाटक घर निर्माणको कुल लागत अनुमन ५ करोड रहेको छ,’रंगकर्मी मेन्याङ्बोले भने ।

नाटक घर धरान सभागृहमा निर्माण हुने भएको छ । त्यहाँ करिब २ कट्ठा क्षेत्रफलमा नाटक घर बनाउन उपमहागनगरपालिकाले अनुमति दिइसकेको छ । नाटक घर निर्माणको लागि संघीय सांसद जयकुमार राईले यो आर्थिक बर्षमा ४० लाख बजेट संसद विकास कोषबाट विनियोजन गरिदिएका छन् । आगामी आर्थिक बर्षमा पनि बजेटलाई निरन्तरता दिने प्रतिवद्धता सांसद राईले दिएको रंगकर्मी मेन्याङ्बोले बताए ।

यसबाहेक प्रदेश सरकारलाई पनि नाटक घर निर्माणको लागि अनुरोध गर्ने रंगकर्मीहरुको तयारी छ । यस्तै, विश्वभर छरिएर रहेका रंगकर्मी, कलाकार तथा शुभेच्छुकहरुबाट आर्थिक सहयोग जुटाएर नाटक घर निर्माण गरिने कलाकारहरुको भनाई छ । ‘विभिन्न मुलुकमा रहनुभएका कलाकारहरु एकदमै सकरात्मक हुनुहुन्छ । रंगकर्मी, रंग चिन्तक, रंगमञ्च, साहित्य, कला, सँस्कृतिलाई माया गर्नेहरुबाट जुटाउछौं । हामी पनि थप्छांैं,’मेन्याङ्बोले भने,‘काम शुरु हुनु बित्तिकै संयोजक तोकेर सहयोग संकलनको काम पनि शुरु हुन्छ ।’

नाटक घर स्पेशल नाटक मञ्चन हुने ठाउँ हो । तर, यहाँ नाटकको कार्यक्रम मात्र हुदैन, चित्रकला प्रर्दशनी, कविता गोष्ठीलगायत साहित्यिक गतिविधिहरु पनि हुनेछ । ‘अब व्यवसायिक साहित्य, रंगकर्म हुनुपर्छ । कविता पनि बेच्नुपर्छ । लाइटको साथ, हावापानी, संगीतको साथमा कविता वाचन गर्दा टिकट शो हुन्छ,’मेन्याङ्बोले भने,‘यो बौद्धिक विकासको पाटोमा ज्यादै महत्वपुर्ण हुनेछ ।’

नाटक घर निर्माणबारे भोली वृहत छलफल हुनेछ

natak-ghar

पछिल्लो समय सभागृहमा नाटक घर निर्माणस्थलबारे स्थानीयबाट विरोध भइरहेको छ । वडा अध्यक्षसहित टोल विकास संस्था(टिएलओ)हरुले नाटक घर निर्माण गर्न नहुने भन्दै सभागृहलाई खुलारुपमा नै छोड्नुपर्ने उनीहरुको माग छ । साथै उनीहरुले चिल्ड्रेन पार्क बनाउने योजना पनि अघि सारेको छ ।

स्थानीयहरु हिजो धरानका मेयर तथा उपमेयरलाई भेटेर पनि आफ्ना मागहरु राखेका थिए । स्थानीयको विरोध आउन थालेपछि नाटक घर शिलान्यासको कार्यक्रम तत्कालको लागि स्थगित भएको छ भने ४० लाख बजेट फ्रिज हुने चिन्ता पनि बढेको छ । यो समस्या हल गर्न आज मेयर तिलक राईले दुवै पक्षसँग छलफल गर्ने तयारी गरेका थिए । तर, सहिद स्मृति मावि र स्थानीयबीचको समस्या समाधान गर्न आफु ब्यस्त हुनु परेकोले भोली दुवै पक्षबीच छलफल गरिने मेयर राईले बताए ।