धरान: जेन जी आन्दोलनको नाममा तोडफोड, लुटपाट र आगजनी मच्चाउने अपराधिक क्रियाकलापमा संलग्न सबै व्यक्तिहरुलाई पक्राउ गरि काननुी कारबाही गर्न नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ सुनसरीले माग गरेको छ । 

क्षेत्रीय सभापति सुजेन्द्र गोले तामाङले मंगलबार राती प्रेस विज्ञप्ती जारी गर्दै धरानका जेन–जी पूस्ता र सिङ्गो धरानलाई नै बद्नाम गराउने, समाजमा भय र त्रासको वातावरण सिर्जना गर्ने व्यक्तिहरुलाई अविलम्व पक्राउ गरी क्षतिपूर्ति असुलीसहित हदैसम्मको कानुनी कारवाही गर्न माग गरेका हुन् । उनले धरानको शान्ति, सुरक्षा र अमैनचैन कायम गराउन र फटाहाहरुलाई कानुनी कठघरामा उभ्याउन सहयोग गर्न पनि जेन–जीहरुलाई अपिल समेत गरेका छन् । 

भदौ २४ गते आन्दोलन समापन भइसकेपछि जेन–जीको नाममा अराजक समूहले राजनीतिक दलका पार्टी कार्यालयहरु, होटल, व्यापरिक भवन, राजनैतिक एवं सामाजिक अगुवा व्यक्तित्वहरुको निजी घर तथा सम्पतिहरुमा तोडफोड, लुटपाट, चोरी र आगजनी गरेर आतङ्क मच्चाएकोप्रति पनि कांग्रेस क्षेत्रीय समितिले घोर निन्दा, भत्र्सना र विरोध जनाएको छ । 

धरानमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपामा माओवादी केन्द्रको पार्टी कार्यालय, पूर्व सांसद जयकुमार राईको घर, पूर्व नगर प्रमुख एवम् नागरिक समाजका अगुवा मनोज मेन्याङ्वोको होटल कन्चनजंघा, पूर्व उपप्रमुख मन्जु भण्डारीको घर, नेपाली कांग्रेसका प्रदेश महामन्त्री उमेश थापाको घर, नेपाली कांग्रेस सुनसरी प्रतिनिधिसभा क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङको घर, कार्यपालिका सदस्य सिर्जना नेपालको घर र भाटभटेनी सुपरमार्केटमा तोडफोड, आगजनी, लुटपाट तथा चोरी भएको थियो । यस्तै, २ नं. र १५ नं. वडा कार्यालयमा समेत भौतिक क्षति पुर्याएको थियो भने भाटभटेनी सुपरमार्केटमा तोडफोड, आगजनी र लुटपाट गर्ने क्रममा भित्रै फसेर चारको मृत्यु समेत भएको थियो ।

UML Dharan copy

जेन जी आन्दोलनमा ७२ जनाको ज्यान गएको घटनाप्रति तामाङले गहिरो दुःख पनि व्यक्त गरेका छन् । साथै, अबोध युवाहरुलाई मार्ने र सयौंलाई घाईते बनाउने निन्दनीय क्रुर हिंसात्मक घटनामा संलग्नहरुलाई पनि कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् । जेन–जीले देश निर्माणमा चासो र नेतृत्वदायी सहभागिताका लागि सुशासन र वाक स्वतन्त्रताको देशव्यापी विगुल फुकेर राजनीतिक चेतना देखाएकोप्रति सम्मान र एक्यवद्धता पनि जनाएका छन् ।

साथै पार्टी नेतृत्वले अझ बढी गम्भिर र संवेदनशील भएर अब दोश्रो पुस्तालाई सहज रुपमा पार्टी र देशको नेतृत्व हस्तान्तरण गर्न समेत उनले जोड्दार माग गरेका छन् । ‘त्यसैगरी जेन–जी पुस्ताले गरेको अभूतपूर्व एवम् बलिदानीपूर्ण आन्दोलनवाट निर्मित नयाँ सरकारले विद्यमान संविधान र जेन–जी वर्गको भावना बमोजिम देशलाई निकास दिन सकोस् र यसका लागि पूर्णरुपमा एक्यवद्धता रहेको समेत जाहेर गर्दछु,’ विज्ञप्तीमा भनिएको छ ।

congress press
congress press1