धरान: पुर्वयुवराज्ञी हिमानी शाह आफ्नी २ छोरीसँग गुराँसको फेद मुनि..बोलको गीतमा नाचेको टिकटक भिडियो भाइरल भयो । उनीहरुको चर्चा सामाजिक सञ्जाल र मिडियाहरुमा चुलियो, सँगसँगै पुनः चर्चामा आए गायक सविन राई ।

यो सदावहार गीतले धराने गायक सविनलाई राष्ट्रिय, अन्तराष्ट्रियरुपमा ख्याती दिलायो । तर, यो मिठो गीतको रचना कस्ले गरे ? यति मिठो संगती कस्ले भरे ? उनीहरु भने गुमनाम झै छन् । यो गीतको रचनाकार धरानका अग्रज पत्रकार एवं रंगकर्मी गोपाल देवान हुन् भने संगीतकार पनि धरानकै नवराम राई हुन् । गायक सविनको जति चर्चा छ, उनीहरु भने गुमनाम नै छन् ।

हुन त जुनसुकै गीत चर्चित हुँदा गीतकार र संगीतकार भन्दा गायक, गायिकाकै बढी चर्चा हुन्छ । तर, यो गीतमा रचनाकार र संगीतकार गुमनाम हुनुमा छुट्टै कथा छ । यो गीतमा गायक सविनले रचनाकार र संगीतकारको नाम अहिलेसम्म औपचारिकरुपमा दिएका छैनन् । अहिले पुनः यो गीत चर्चामा आएपछि यो गीतका रचनाकार देवान र संगीतकार राई आज एकआपसमा भेट गरेका छन् ।

उनीहरुले भेट मात्र गरेनन्, यो गीतमा रचनाकार र संगीतकारको नाम देऊ भन्दै मागसमेत गरेका छन् । उनीहरुले गीतवापत एक पैसा पनि नचाहिने तर नाम दिनुपर्ने आग्रह गरेका छन् । रचनाकार देवानले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘सविन राई भाईलाई हामी के अनुरोध गछौं भने हामीलाई त्यो गीत वापत एक पैसा चाहिएन, तर नाम हुनुपर्यो ।’ देवानले म्युजिक एल्बममा नाम दिन र सार्वजनिकरुपमा गीतकार, संगीतकारको नाम उल्लेख गर्नुपर्ने उनीहरुको आग्रह छ ।

पत्रकार एवं रंगकर्मी देवानका अनुसार क्विज कन्टेन्स्टमा पनि रचनाकार र संगीतकार सविन राई भन्दा मात्र सही जवाफ हुन्छ । यसअघि पनि गायक राईले आग्रह गरेको तर अहिलेसम्म नाम नदिएको उनले बताए । ‘हामी घर सल्लाहमै मिल्छौं भने किन मुद्दा, मामिला गर्ने भनेर आग्रह गरिरहेका छौं, हामीलाई पैसा होइन, नाम मात्र चाहिएको हो,’क्लिकधरानसँग उनले भने ।