सुनसरी: जिल्ला सदरमुकाम इनरुवामा लागेको आगलागी करिब ६ घण्टाको प्रयासमा नियन्त्रणमा आएको छ ।
सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कमल थापाका अनुसार आगलागी अहिले नियन्त्रणमा आएको छ । तर, भवनभित्र अझै धुँवा आइरहेकोले दमकलसहित सुरक्षाकर्मीहरु आगलागीस्थलमा नै रहेको पनि उनले बताए । ‘आगलागी करिब करिब नियन्त्रणमा आइसकेको छ, तर अझै भित्रबाट धुँवा आइरहेकोले हामी दमकलसहित नै यही छौं,’एसपी थापाले भने ।
उनका अनुसार २ वटा घर आगलागीबाट क्षति पुगेको छ । तर, क्षतिको पुर्ण विवरण आउन भने समय लाग्ने एसपी थापाले बताए । हनुमान बस्त्रालयको तल्लो तलामा रहेको सामानहरु क्षति पुगेको छ भने माथिल्लो तलाको कपडाहरु सुरक्षित सारिएको एसपी थापाले बताए । अर्को घरको रंगको पसलका सामानहरु पनि ५० प्रतिशत जति क्षति पुगेको एसपी थापाले बताए ।
आगलागी भएको दुवै घर हनुमान अटल परिवारको हो । आगलागी आज बिहान करिब पौने ५ बजेतिरबाट शुरु भएको थियो । आगलागीको कारण पनि अझै खुल्न बाँकी छ । ‘अहिलेसम्म आगो नियन्त्रणमा केन्द्रीत भयौं, अब के कारणले भएको हो, कति क्षति भएको छ भनेर त्यता ध्यान दिन्छौं,’एसपी थापाले भने ।