धरान: हाल अमेरिका बस्दै आएका सुनसरी, इनरुवाका गायक तथा सङ्गीतकार उमेश रेग्मीले नेपाल सङ्गीतकार सङ्घलाई ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

कोभिड १९ का कारण नेपाली सङ्गीतकारहरुलाई परेको समस्यामा आफ्नो तर्फबाट थोरै भएपनि सहयोग पुगोस् भनेर पैसा पठाएको उनले बताए । उमेशले पठाएको नगद सङ्गीतकार आनन्द राईले सङ्घका कोषाध्यक्ष हरि लम्साल तथा लक्ष्मण शेषलाई हस्तान्तरण गरेका थिए ।

अमेरिकाको भर्जनिया बस्ने सङ्गीतकार रेग्मीले पछिल्लो समय सक्रिय सङ्गीतकारका रुपमा चिनिन्छन् । अमेरिकामा रहेर पनि सक्रिय उनको सङ्गीतमा दीप श्रेष्ठ, रामकृष्ण ढकाल, शिव परियार, टिका प्रसाईं, मेलिना राईं, विश्व नेपाली, वानिका प्रधान, राज पौडेल लगायतका गायक गायिकाले स्वर दिईसकेका छन् ।