धरान: लकडाउनले ठप्प भएको धरानको चर्चित पर्यटकीयस्थल धरान १५ स्थित वगरकोटका व्यवसायीहरुलाई घरधनीहरुले भाडामा छुट दिने भएको छ ।
वगरकोट होटल व्यवसायी मञ्चको आयोजनामा बुधबार वगरकोटका व्यवसायी र घरधनीहरुबीचमा छलफल भएपछि घरभाडामा छुट दिने सहमति भएको हो । लकडाउनले व्यवसाय ठप्प भएकोले मञ्चले सहयोगको आग्रह गरेपछि घरधनीहरुले लकडाउनको समय अवधिभर आधा मात्र भाडा लिने सहमति जनाएको मञ्चका अध्यक्ष जिवन मेन्याङवो लिम्वुले जानकारी दिए । छलफलमा अधिकांश घरधनीहरु आएका थिए । उपस्थित हुन नपाएका घरधनीहरुले फोनबाट नै सहमति जनाएको पनि उनले जानकारी दिए ।
सौर्य होटललाई भने पुरै भाडा छुट
वगरकोटकै सौर्य होटल एण्ड लजका सञ्चालकलाई भने घरधनी कालीवहादुर लिम्वुले लकडाउन अवधिभरकै घर भाडा नलिने घोषणा गरेका छन् । यस्तै, भाइभ्स बार एण्ड रेष्टुरेन्टका जग्गाधनीले पनि तीन महिनाको भाडा नलिने सहमत भएको मन्चका वरिष्ठ उपाध्यक्ष तथा भाइभ्सका संचालक भक्तराज राईले जानकारी दिए ।
वगरकोटमा ४० वटा व्यवसायहरु छन् । अधिकांश व्यवसायीहरुले घर भाडामा लिएर रेष्टुरेन्ट, वार र सेकुवा कर्नरहरु संचालन गरिरहेका छन् । अध्यक्ष लिम्बुका अनुसार वगरकोटमा करिव २५ करोड लगानी रहेको छ भने ५ सय जनाले रोजगारी पाइरहेका छन् । तर लकडाउनको कारण व्यवसायीको लगानी जोखिममा परेको छ भने ५ सय जनाको रोजगारी पनि जोखिममा छ ।
राज्य र स्थानीय सरकारलाई व्यवसायलाई उकास्नको लागि तत्काल राहतको प्याकेज र योजनाहरु ल्याउन आग्रह गर्दै अध्यक्ष लिम्वुले सहयोगका लागि घरधनीहरुलाई धन्यवाद पनि दिएका छन् । छलफल कार्यक्रममा मञ्चका सल्लाहकार हरि वान्तावा, मञ्चका सचिव महेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।