धरान: स्थानीयबासीसँग सहमति जुटेपछि धरान ८, सभागृह क्षेत्रमा प्रादेशिक नाटक घरको आज शिलान्यास भएको छ ।

संघीय सांसद जयकुमार राईले आज दिउँसो नाटक घरको शिलान्यास गरेका हुन् । यो नाटक घर निर्माणको लागि निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट ४० लाख बजेट विनियोजन भएको थियो । नाटक घर शिलान्यास भएपछि रंगकर्मीहरुसँगै धरानका बुद्धिजिविहरुले खुशी व्यक्त गरेका छन् । वि.स.१९९७ सालदेखि धरानमा नाटक मञ्चन हुनथालेको इतिहास छ । यहाँका रंगकर्मीहरुले लामो समयदेखि नाटक घरको सपना बुनेका थिए । शिलान्यास भएसँगै उक्त सपनाले मुर्तरुप लिने भन्दै कलाकारहरु उत्साहित छन् ।

शिलान्यास कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सांसद राईले धरानमा नाटक घर अतिआवश्यक भएको धारणा राख्दै निर्माण सम्पन्न गर्न सबैबाट साथ, सहयोग हुनुपर्ने बताए । उनले स्थानीयले शुरुमा विरोध गरेपछि छलफलबाट सहमति जुटेर निर्माण कार्यअघि बढेकोमा खुशी पनि व्यक्त गरे । साथै, धरानेहरु विकास प्रेमी भएकोले विकास निर्माणको कार्यमा बाधा नपुर्याउने पनि बताए । सांसद राईले नाटक घर निर्माणमा आफ्नो र पार्टीको निरन्तर सहयोग हुने उल्लेख गर्दै तीनै तहको सरकारको बजेटबाट निर्माण कार्य सम्पन्न गरिने बताए । उनले प्रदेश सरकार र संघीय सरकारबाट पनि आवश्यक बजेट ल्याउन पहल गरिने पनि बताए ।

natak-ghar1 1

धरानका मेयर तिलक राईको अध्यक्षतामा भएको कार्यक्रममा भाषाविद् डा.टंक न्यौपानेले भौतिक निर्माणलाई मात्र विकासकोरुपमा नलिन आग्रह गर्दै नाटक घरले धरानको कला, सँस्कृति क्षेत्रको आवश्यकतालाई पूर्ति गरेको बताए । निर्माण उपभोक्ता समितिका संयोजक प्रेम सुब्बाले नाटक घर मात्र नाटक मञ्चन गर्नको लागि नभै साहित्यिक कार्यक्रम, चित्रकला प्रर्दशनीलगायत पनि गर्न सकिने गरि निर्माण हुने बताए ।

स्थानीय राजनीतिकर्मी एवं अगुवा नन्दकुमार राईले स्थानीयबासीले नाटक घरको विरोध गरेको नभै विगतमा पनि धेरै योजनाहरु अलपत्र परेको कारण नाटक घर पनि बजेट अभावमा बीचमै अलपत्र हुन नदिन खबरदारी गरेको बताए । उनले बजेटको स्रोत सुनिश्चित हुनुपर्ने र समयमा नै निर्माण सम्पन्न गरिनुपर्ने पनि बताए । नाटक घरको डिपिआर तयारी भइरहेको छ । यसको लागत करिब ५ करोड अनुमान गरिएको छ ।