धरान: नगरसभा अघि नै वडाअध्यक्षहरुले बजेट सिलिङ नपाएपछि धरानमा शुरु भएको विवाद समाधानतर्फ अघि बढेको छ ।

विवाद चर्कदै गएपछि हिजो र आज राजश्व परामर्श समिति र सिलिङ समितिसँग मेयर तिलक राईले लगातार छलफल गरेपछि विवाद समाधानतर्फ गएको छ । ‘हिजो र आज बिहान पनि राजश्व परामर्श समिति, सिलिङ समितिसँग निरन्तर छलफल भयो, मेयर साबमा नगरसभा गर्ने प्रक्रियाको बुझाईमा केही केही फरक परेकोले बीचमा समस्या भएको रहेछ,’सिलिङ समितिका सदस्यसमेत रहेका वडा १७ का अध्यक्ष मनोज भट्टराईले भने,‘हिजो राती १० बजेसम्म छलफल भयो । आज पनि बिहानैदेखि छलफलमा जुट्यौं ।’

आज दिउँसो साढे ३ बजे धरानको कार्यपालिका बैठक हुदैछ । उक्त बैठकमा नीति तथा कार्यक्रम र बजेटको सिलिङबारे छलफल हुने र विवाद समाधानतर्फ जाने अपेक्षा गरिएको छ । ‘अध्यक्ष ज्युहरुले बजेट सिलिङ पाउनुहुन्छ । भोली नगरसभा शुरु भएर स्थगित हुन्छ, र वडामा योजना छनौटको समय पनि दिने कुरा भएको छ,’भट्टराईले भने ।

हिजो र आजको छलफलले धरानमा गत बर्ष मोरङको उर्लाबारीमा भएको घटना पुनरावृत्ति हुने खतरा पनि टरेको छ । उर्लाबारीमा पनि कांग्रेसबाट जितेका मेयर अल्पमतमा छन् । उपमेयर नेकपाबाट विजयी हुन् । त्यहाँ पनि नेकपाको बहुमत छ । गत बर्ष मेयरले कार्यपालिकाबाट एकलौटीरुपमा नगरसभा बोलाउने निर्णय गरेका थिए । साथै, नेकपाका जनप्रतिनिधिहरुले बहिष्कार गरेको नगरसभा सम्पन्न गरेपछि उपमेयर उच्च अदालत गएकी थिइन् । उच्च अदालतले नगरसभा वदर गरिदिए पछि उर्लाबारीले पुनः अर्को नगरसभा गर्न बाध्य भएको थियो ।

धरानमा पनि मेयर नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्छन् । धरानमा कांग्रेसले ५ वटा वडा जितेको छ । उपमेयर नेकपाबाट प्रतिनिधित्व गर्छिन् । नगर कार्यपालिका र नगरसभामा नेपकाको बहुमत छ । धरानमा भोली(असार १०) गते नगरसभा डाँकिएको छ । त्यसअघि सिलिङ समितिमार्फत बजेट सिलिङ वडामा पुग्नुपर्ने र योजना तर्जुमा समितिमा हुनुपर्ने छलफल नभएपछि वडाअध्यक्ष र मेयरबीच विवाद शुरु भएको थियो । धरानका १३ जना वडा अध्यक्षहरुले योजना छनौट गर्ने समय नभएको भन्दै लिखितरुपमा नै नगरसभा पुर्व तत्काल सिलिङ उपलब्ध गराउन मेयर तिलक राई अनुरोध पत्रसमेत बुझाएका थिए ।