इटहरीः चैतमा फाइनल परीक्षा सकाएर घर गएका इटहरीका मनिष खतिवडालाई विद्यालयमा काममा नआउन म्यासेज आयो । उनी सदा झैँ इटहरी उपमहानगरपालिकासँगै जोडिएको इटहरी चिल्ड्रेन एकेडेमीमा भोलीपल्ट कार्यालय आए । तर, हाजिरी किताब लुकाइएको थियो ।
उनले विद्यालयका प्रिन्सिपललाई आफु निकालिएको कारण बुझ्न खोजे । ‘स्कुलले चाह्यो निकाल्यो, कारण किन भन्नु ?’ प्रिन्सिपलको जवाफ उदृत गर्दै शुक्रवार इटहरीका मेयर द्धारिकलाल चौधरीको कार्यकक्षमा पीडित शिक्षक खतिवडाले सुनाए । उनी मात्र होइन, सो विद्यालयले लकडाउन अवधिमा ३ शिक्षक निकाल्यो । त्यो पनि बिना कारण । उनीहरु पनि मनिष जस्तै आफु के कारणले निकालिए भन्ने अन्योलमा छन् । अहिले विद्यालयबाट चौतर्फि धम्कि आएको भन्दै आफुु असुरक्षित भएको पनि उनीहरुले जानकारी गराए ।
मनिषले यो पीडा आफ्नो शिक्षक संगठन इष्टुका सदस्य राम गौतमलाई पनि जानकारी दिए । उनले विद्यालय व्यवस्थापनसँग कुरा गर्दा शिक्षकहरुको रोकिएको तलब बैशाखमा दिइने भनियो । जेठ गयो, मध्य असार भयो । तर, उनीहरुको न पुनवर्हाली भयो, न त विद्यालयले बाँकी तलब नै दियो । उनी जस्ता दर्जनौँ शिक्षकको समस्या लिएर गौतमसहित शिक्षाक, विद्यालय संचालक, प्याब्सन र एनप्याब्सनका पदाधिकारी नगर प्रमुखसँग डेलिगेशन गएका थिए ।
उनीहरुले आ–आफ्नो क्षेत्रको समस्या राखे । सबै भन्दा ठुलो समस्यामा शिक्षकहरु रहेको भन्दै शिक्षक गौतमले भने–‘अहिले इटहरी क्षेत्रका ३ हजार शिक्षकहरु तेलचामल किन्न नसकेर धौ धौ अवस्थामा छन्, उनीहरुका लागि नगरपालिकाले केही सोची दिनुपर्यो ।’ उनले जागिरबाट असुरक्षित भएसँगै कोरोना कहरले थप समस्या गुज्रिएको दुःखेसो पोखे । ‘सामान्य समस्या त मिलेर समाधान गरिन्थ्यो, अब त लकडाउन कहिलेसम्म होला भन्ने अन्यौल भयो,’उनले भने,‘हामी परिवार पाल्नै नसक्ने अवस्थामा पुगेरै नगरपालिका आएका हौँ ।’
अर्का शिक्षक विरैन्द्र साहले वर्षभरी काम गर्ने शिक्षकलाई इटहरीका धेरै विद्यालयले तलब नदिने गरेको बताए । ‘कतिले त फागुन देखिकै अट्काएर राखेका छन् भन्ने गुनासो आइरहेको छ,’उनले भने,‘चैत्र ५ सम्म परीक्षा सक्न सरकारले निर्देशन दिएबमोजिम विद्यालयले लिएको परीक्षाको कत्ति शिक्षकलाई कपिसमेत जाँच गर्न दिइएन । अहिले निकालिएको छ ।’
उनले छिटफुटबाहेक अधिकांश विद्यालयले शिक्षकलाई नियुक्ति पत्र नदिने गरेको बताए । निजी विद्यालयमा काम गर्दा कुन बेला जागिर जाने हो ठेगान नहुने भन्दै भय र त्रासमा धेरै शिक्षक काम गरिरहेको बताए । विद्यालय संचालक महेश धितालले साना तथा मझौला विद्यालयसमेत समस्यामा परेको बताए । उनले शिक्षकहरुलाई तलब दिन गाह्रो भएको भन्दै तीनै तहका सरकारले निजी क्षेत्रको समस्या नबुुझिदिदा धेरै शिक्षक मार्कामा पर्ने गरेको बताए ।
एनप्याब्सन सुनसरीका अध्यक्ष नारायण संजेलले चैतसम्मको तलब खुवाउन संस्थागत पत्राचार भएको भन्दै विद्यालयले शिक्षकलाई अन्यायमा पार्न नहुने तर्क गरे । सबै पक्षको कुरा सुनेका मेयर चौधरीले भने सबै तिरको अभ्यास हेरेर आफुले के गर्न सकिन्छ पछि निर्णय लिने प्रतिक्रिया दिए ।