धरान: वृद्धि भएको तलबमानप्रति असन्तुष्टी जनाउदै केहीबेर धर्ना दिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित चिकित्सा तथा दन्त चिकित्सक शिक्षक कल्याण समाजले आफ्ना माग पुरा गर्न २४ घण्टाको अल्टिमेटम दिएको छ ।

समाजको नेतृत्वमा आज बिहान प्रतिष्ठानको उपकुलपति कार्यालयअघि शिक्षक चिकित्सकहरुले धर्ना दिएका थिए । उनीहरुले चिकित्सकहरुको तलब १० प्रतिशतले मात्र वृद्धि गरेको भन्दै असन्तुष्टी जनाएका छन् । यो निर्णय अन्यायपुर्ण भएको भन्दै सोसाइटीले तीन तहमा विभाजन गरेर गरिएको तलवमान वृद्धि सच्याएर कर्मचारी र चिकित्सकहरुलाई २ तहमा मात्र विभाजन गरेर तलव वृद्धि गर्नुपर्ने माग गरेको छ । ‘फ्याकल्टी चिकित्सकहरु वीपीको पिलर हो, तर उनीहरुकै तलब सबैभन्दा कम वृद्धि गरियो । यो अन्यायपुर्ण भएकोले सच्याउनुपर्छ भन्ने माग हो,’सोसाइटीका अध्यक्ष डा.विष्णु पोखरेलले भने ।

डा.पोखरेलका अनुसार तलव बृद्धि गरिदा अधिकृतभन्दा मुनि र अधिकृत माथिको तह मात्र विभाजन गरेर तलब वृद्धि गर्दा सबैलाई उचिततरिकाले समेटिने बताए । सोही अनुसार तलबमान वृद्धि गर्न सुझाव दिइएको उनले बताए । ‘वार्ता सकरात्मक रह्यो । हामीले २४ घण्टे अल्टिमेटम दिएका छौं,’उनले भने । हिजो उपकुलपति डा.ज्ञानेन्द्र गिरीले श्रेणीविहिनदेखि सहायकस्तरका कर्मचारीलाई २० प्रतिशत, अधिकृतदेखि डेपुटी रजिष्ट्रारसम्मका कर्मचारीलाई १५ प्रतिशत र सिनियर रेसिडेन्टदेखि पदाधिकारीसम्मलाई १० प्रतिशत तलब वृद्धि गर्ने निर्णय गरेका थिए ।

आज शिक्षक कल्याण समाजसँगको वार्तामा उपकुलपति डा.गिरी, रेक्टर डा.गुरु खनाल, अस्पताल निर्देशक डा.गौरीशंकर साह र कार्यकारिणी समिति सदस्य डा.पशुपति चौधरी पनि सहभागी थिए । वार्ता सकरात्मक रहेको र उपकुलपतिले मागबारे थप गृहकार्य गरेर छलफल गर्ने बताएको कार्यकारिणी समिति सदस्य डा.चौधरीले जानकारी दिए ।