धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कर्मचारी तथा चिकित्सकहरुको वृद्धि तलवमानको निर्णय संशोधन भएको छ ।

वृद्धि भएको तलबप्रति असन्तुष्टी जनाउदै चिकित्सक शिक्षकहरुले धर्ना दिदै आन्दोलन शुरु गरेपछि उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले निर्णय संशोधन गरेका हुन् । आज बिहान चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले धर्ना दिदै उपकुलपतिलाई निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम दिएका थिए । अघिल्लो दिन उपकुलपति डा.गिरीले चिकित्सक शिक्षक एवं पदाधिकारीहरुको तलब १० प्रतिशतले वृद्धि गर्ने निर्णय गरेका थिए । श्रेणीविहिन कर्मचारीदेखि सहायकस्तरसम्म २० प्रतिशत र अधिकृतदेखि डेपुटी रजिष्ट्रारसम्म १५ प्रतिशत वृद्धि गर्ने उनको निर्णय थियो ।

यो निर्णयप्रति असन्तुष्टी जनाउदै चिकित्सकहरुले निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम दिएका थिए । दबाबमा परेका उपकुलपति डा.गिरीले २४ घण्टा नबित्दै निर्णय संशोधन गर्दै चिकित्सक, शिक्षक एवं पदाधिकारीहरुको हकमा पनि बेसिक तलव बृद्धि १० प्रतिशतको सट्टा १५ प्रतिशत(नियमानुसार आकर्षण भत्तासमेत) वृद्धि गर्ने निर्णय गरेका छन् । शिक्षक कल्याण समाजका अध्यक्ष डा.विष्णु पोख्रेलले तलव वृद्धि संशोधनको निर्णय भएको औपचारिकरुपमा जानकारी नपाएको बताए । आफुहरुको माग अनुसार निर्णय सच्चिएको भए सकरात्मक नै लिने उनको भनाई थियो ।