धरान: जनता समाजवादी पार्टीले मंगलबार धरानमा राष्ट्रिय तथा स्थानीय विभिन्न मुद्दा लिएर वृहत विरोध प्रर्दशन गरेको छ ।

सरकारले लैंगिक विभेदसहितको नागरिकता विधेयक ल्याएको प्रमुख मुद्दामा विरोध जनाउन आयोजित प्रर्दशनमा सो पार्टीले धरानको खानेपानी आयोजनाको एजेण्डालाई पनि प्रमुखताका साथ उठाएको छ । सरकारले ७ बर्ष पुगेपछि मात्र विवाह गरेर नेपाल आएका विदेशी महिलालाई अंगीकृत नागरिकता दिने विधेयकको बिषयमा केन्द्रीत भएर मंगलबार जनता समाजवादीले देशव्यापी विरोध प्रर्दशन गरेको थियो ।

जनता समाजवादीका अध्यक्ष ताजुब लिम्बुका अनुसार नागरिकता विधेयकको विभेदकारी प्रावधानहरु खारेजको माग गर्दै विरोध कार्यक्रम गरिएको हो । योसँगै एमसिसीको खारेज गर्नुपर्ने र रुकुम घटनाको दोषीलाई कडा कानुनी कारबाही गर्नुपर्ने माग राखेर पनि विरोध कार्यक्रम गरिएको उनले बताए । ‘इनफ इज इनफ अभियानमा ऐक्यवद्धता र १० अर्ब भ्रष्टचारको विरोधमा पनि यो कार्यक्रम हो,’उनले भने,‘धरानको खानेपानी आयोजनाको सवालमा पनि हामीले यो विरोध कार्यक्रममा बिषय उठाएका छौं ।’

janta-samajbadi2

तस्बिर: जेन्टल लावती

अध्यक्ष लिम्बुका अनुसार २०७६ साउन २९ गते उद्योग वाणिज्य संघमा आयोजित छलफलमा नेकपा इतरका दलहरुले ११ बुँदे ज्ञापन पत्र तत्कालिन कार्यवाहक मेयरलाई बुझाएको थियो । जनता समाजवादी पार्टी अहिले पनि त्यही अडानमा रहेको उनले बताए । ‘हिजोको प्रतिवद्धता अनुसार आइयुडिपीले जनतालाई खानेपानी दिन सकिरहेको छैन । यसले गर्दा आयोजना असफल भएको मसशुस भएको छ, शंका उत्पन्न भएको छ,’अध्यक्ष लिम्बुले भने,‘जबसम्म धरान खानेपानी आयोजना सफल भएको पुर्णरुपमा महशुस हुन पाउदैन, तबसम्म खानेपानी संस्थानलाई बोर्डमा गाँभ्न पाइदैन ।’

janta-samajbadi