धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अधिकृतस्तरका कर्मचारीहरुले पनि वृद्धि भएको तलबमा असन्तुष्टी जनाएका छन् ।

उनीहरुले सरकारले वृद्धि गरेसरह नै तलब बढाउन माग गर्दै उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई भेटेर आज बिहान ज्ञापन पत्र बुझाएका छन् । कर्मचारीहरुका अनुसार सरकारले वृद्धि गरेअनुसार २० प्रतिशत तलब वृद्धि गर्नुपर्ने माग गरेका छन् । २० प्रतिशत सम्भव नभए १८ प्रतिशत तलब वृद्धि हुनैपर्ने अधिकृतहरुको माग छ । उपकुलपति डा.गिरीले भने अधिकृतस्तरका कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेका थिए ।

कर्मचारी कल्याण समाजका कार्यवाहक अध्यक्षसमेत रहेका उमेश थापाले अधिकृतस्तरका कर्मचारीहरु मारमा परेको हुनाले सरकारले वृद्धि गरे सहर नै तलब बढाउन माग गर्दै ज्ञापन पत्र बुझाएको बताए । ‘अधिकृतस्तरका कर्मचारीहरु सधै मारमा छौं, त्यसैले सरकारले वृद्धि गरेको २० प्रतिशत नै तलब हाम्रो बढ्नुपर्छ भन्ने माग राखेर ज्ञापन पत्र बुझायौं,’उनले भने,‘२० प्रतिशत नसक्ने हो भने पनि १८ प्रतिशत त बढाउनुपर्छ ।’

तलब वृद्धिमा प्रशासनिक अधिकृतहरुसँगै नर्सिङ र प्राविधिकतर्फका अधिकृतहरु पनि असन्तुष्ट छन् । प्रतिष्ठानमा अधिकृतस्तरका कर्मचारीहरु १ सय २० जनाको हाराहारीमा छन् । उपकुलपति डा.गिरीले ज्ञापन पत्र बुझाउन पुगेका अधिकृतहरुसँग छलफल पनि गरेका थिए । उनले अहिले वृद्धि गरिएको तलबमान अस्थायी भएको र अवस्था सुधार हुनेबित्तिकै ठोस निर्णइ गर्ने मौखिक वचन दिएको पनि थापाले जानकारी दिए । ‘हामीले नीतिगतरुपमा नै निर्णय हुनुपर्छ भनेका छौं, उहाँले पनि राम्रो हुने बित्तिकै म गर्छु भन्नु भएको छ,’थापाले भने ।

सरकारले कर्मचारीहरुको तलब वृद्धि गरेपछि वीपी प्रतिष्ठानका कर्मचारी, चिकित्सकहरुले पनि बृद्धि गर्न दबाब दिएपछि ४३ औं सिनेट बैठकले आन्तरिक स्रोतबाट २० प्रतिशतसम्म तलब वृद्धि गर्न स्वीकृति दिएको थियो । सोही अनुसार उपकुलपति डा.गिरीले १ साउन २०७६ देखि लागु हुने गरी तलब वृद्धि गर्ने निर्णय गरेका थिए । उनले श्रेणीविहिनदेखि सहायक स्तरसम्मका कर्मचारीहरुको बेसिक तलबमान २० प्रतिशत र अधिकृतस्तरदेखि डेपुटी रजिष्ट्रारसम्मका कर्मचारी, सिनियर रेसिडेन्टदेखि पदाधिकारीहरुको बेसिक तलबमा १५ प्रतिशतका दरले तलब वृद्धि गर्ने निर्णय भएको छ । नियमअनुसार आकर्षण भत्ता पाउने शिक्षकको पनि १५ प्रतिशतले वृद्धि हुनेछ ।

सोमबार चिकित्सक शिक्षक र पदाधिकारीहरुको बेसिक तलबमा १० प्रतिशतले मात्र तलब वृद्धिको निर्णय उपकुलपति डा.गिरीले गरेका थिए । उक्त निर्णयमा असन्तुष्टी जनाउदै मंगलबार बिहान चिकित्सक शिक्षकहरु धर्नामा उत्रिएका थिए भने निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम दिएका थिए । चिकित्सकहरुको यो अल्टिमेटमपछि उपकुलपतिले अघिल्लो दिनको निर्णय सच्याउदै चिकित्सक शिक्षक एवं पदाधिकारीहरुलाई पनि १५ प्रतिशतको दरले तलब वृद्धिको निर्णय गरेका थिए ।