धरान: धरान १३ स्थित कृषि उपज बजारस्थलमा मिनि कोल्ड च्याम्बर निर्माण भइहेको छ । प्रदेश १ सरकारको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा यो च्याम्बर निर्माण भइरहेको हो ।

यो च्याम्बरको क्षमता ७५ टन रहेको छ । फलफुल र तरकारीलाई लक्षित गरेर च्याम्बर निर्माण भइरहेको कृषि उपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । तत्काल बिक्री हुन नसकेको तर चाडै कुहिने तरकारी, फलफुलहरुलाई कोल्ड च्याम्बरमा राखेर ताजापन ह्रास हुन नदिइने र केही दिन वा महिनापछि पनि राम्रो मुल्यमा बिक्री गर्न सकिने उनले बताए । ‘काउली, टमटर तत्काल बिक्री भएन भने कोल्ड च्याम्बरमा राखेर भोली, पर्सिको दिन बेच्न सकिन्छ,’उनले भने,‘सुन्तला ३ महिनासम्म राख्दा पनि गुणस्तरमा ह्रास नआउने रहेछ । स्याउ, नासपतिलाई त १ बर्षसम्म नै राख्न मिल्ने रहेछ ।’

कोल्ड च्याम्बरले तरकारी र फलफुललाई राम्रो बजारीकरण गर्न मद्दत पुग्नेछ भने उपभोक्ताहरुले पनि अफसिजनमा पनि ताजारुपमा नै फलफुल उपभोग गर्न पाउनेछन् । यस्तै, किसान तथा व्यापारीहरुको चाडै कुहिने तरकारी वा फलफुल यहाँ ताजारुपमा नै राखिने भएकोले क्षति पनि हुनेछैन । ‘सिधुवामा किसानहरुले थोरै क्षमताको कोल्ड च्याम्बर राखेको छ भन्ने सुनेको छौं, त्यो बाहेक प्रदेश १ मा अन्यत्र सहरमा यस्तो च्याम्बर छैन,’व्यवस्थापक भट्टराईले भने,‘हामी यसलाई उच्चतम उपयोग गर्ने योजनामा छौं ।’

cold2

कृषि बजारका अनुसार आगामी बर्ष संघीय सरकारबाट पनि डेढ सय मेट्रिक टन क्षमताको कोल्ड च्याम्बर थपिदैछ । कृषि उपज सञ्चालक समितिको प्रस्तावलाई संघीय मन्त्रालयले स्वीकृति गरेको र बजेट छुट्टीएको प्रारम्भिक जानकारी आएको छ, तर औपचारिकरुपमा जानकारी आउन भने बाँकी छ । ‘यो दुवै च्याम्बरलाई पाइलट प्रोजेक्टकोरुपमा पनि लिएका छौं । यो सफल भयो भने नगरपालिकासँग मिलेर कुनै ठाउँमा कोल्ड स्टोर नै बनाउछौं,’व्यवस्थापक भट्टराईले भने,‘कोल्ड स्टोरलाई त ठुलो क्षेत्रफल चाहिन्छ, र लगानी पनि कम्तीमा १५ करोड पर्छ ।’ अहिले निर्माण भइरहेको कोल्ड च्याम्बर कृषि उपजको पशु हाटको दक्षिणको जग्गामा हो । यसको कुल लागत ७५ लाख रहेको छ । मेशिनको मात्र ५० लाख लागत परेको कृषि बजारले जानकारी दिएको छ । अर्को बर्ष थप डेढ सय मेट्रिक टनको कोल्ड च्याम्बर निर्माण हुनेछ ।

cold-chamber1