धरान: तरकारी बोकेको गाडी निर्माणाधिन भेडेटार–रवि सडकखण्ड अन्र्तगत ओख्रे र डाँडाबजारको बीचमा एक रात फस्दा किसानले उत्पादन गरेको तरकारी कुहिएर खेर गएको छ ।
बर्षा भएर बाटो हिलाम्य भएपछि फुलकोपी बोकेको ५ वटा पिकअप गाडी मंगलबार रातभरि फसेको थियो । मंगलबार राती नै धरान १३ स्थित कृषि बजार आइपुग्नुपर्ने तरकारी हिजो बुधबार साँझ मात्र आइपुग्यो । बाटोमा फसेको गाडीभित्र गुम्सिएको फुलकोपी आज(बिहिबार) बिहान कृषि बजारमा ल्याउदा गह्नाउन थालिसकेको थियो । जसले गर्दा बिक्री नै हुन नसकेको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए ।
‘अस्ति राती नै कृषि बजार आइपुग्नुपर्ने थियो, हिजो बेलुका मात्र आइपुग्यो । गाडीभित्र गुम्सिएर गह्नाउन थालिसकेकोले बिक्री हुनै सकेन,’उनले भने,‘हिजो बिहानसम्म यी फुलकोपी आउछ कि भनेर जनकपुर, गाइघाट लैजान व्यापारीहरुले पर्खिएको थियो, तर बेलुकीमात्र आइपुग्यो ।’ व्यवस्थापक भट्टराईका अनुसार गह्नाउन थालेपछि ती फुलकोपी व्यापारीले खरीद गरेनन् । केही मानिसहरुले सुँगुरलाई चारोको लागि लगे भने बाँकी सबै फोहोरकोरुपमा फल्नुपरेको उनले जानकारी दिए । ‘दाम छिन्ति गरेर ल्याएको हो भने व्यापारी डुब्यो, कमिशनमा मात्र ल्याएको हो भने किसान डुब्यो,’उनले भने ।
तरकारी ढुवानीकर्ता सुवोध अधिकारीका अनुसार साँगुरीगढी गाउँपालिका ५ स्थित डाँडाबजार क्षेत्रबाट ५ वटा पिकअप गाडीले मंगलबार बेलुकी फुलकोपी धरान ल्याइरहेको थियो । तर, ओख्रेदेखि केही पुर्व रातभरि नै गाडी फसेको उनले बताए । ‘एउटा त बिग्रेर आउनै सकेन, ४ वटा चै हिजो ल्यायौं,’उनले भने,‘९ टन जति फुलकोपी थियो, धेरै नै खेर गयो ।’ बाटो निर्माणको क्रममा भएकोले पानी परेपछि र ठुलो गाडीहरु गुड्लदा हिलाम्य भएर अन्य साना गाडीहरु फस्ने गरेको उनले बताए ।