धरान: करिब एक सातादेखि खानेपानीको चरम अभाव भएपछि धरानको वडा नं १७ र १८ का उपभोक्ताहरुले खानेपानी समस्या समाधान संघर्ष समिति गठन गरेका छन् ।

आज शनिबार बिहान धरान १८ स्थित रत्न चोकमा भएको भेलाले अजेन्द्र राईको अध्यक्षतामा ११ सदस्यीय संघर्ष समिति गठन गरेका हुन् । वडा नं १७ र १८ का केही चोकहरुमा ६ दिन यता खानेपानीको चरम अभाव भएको कारण समाधानको लागि संघर्ष समिति गठन गरिएको स्थानीयको भनाई छ । संघर्ष समितिको उपाध्यक्षमा राधिका राई, सचिवमा प्रेमकुमार राई र कोषाध्यक्षमा भिम राई रहेका छन् । यस्तै, सदस्यहरुमा रविन गोतामे, अरुण साह, प्रज्वल राई, निर्मल राई, इन्दु रसाइली, सुर्दशन लिम्बु र दिलिप सुनुवार रहेका छन् ।

भेलाले ९ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । संघर्ष समितिले समस्या समाधान गर्न पहिलो चरणमा सम्बन्धित वडाका वडाअध्यक्षहरुलाई समाधनको लागि ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ । त्यसपछि पनि समस्या समाधान नभए उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखलाई पनि ध्यानाकर्षण गराउने निर्णय भएको समितिका सचिव प्रेमकुमार राईले जानकारी दिए । ‘वडा र उपमहानगरपालिकाबाट समेत हाम्रो मागको सम्बोधन नभए सम्पुर्ण वडाबासीहरुको वृहत उपस्थितिसहित चरणवद्ध आन्दोलनमा जाने निर्णय भेलाले गरेको छ,’सचिव राईले भने ।