इटहरी: इटहरी उपमहानगरका नगरसभा सदस्यहरुले इटहरी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७÷०७८को बजेट, नीति तथा कार्यक्रम अहिलेसम्मकै उत्कृष्ट भएको बताएका छन् ।

नगर प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको सातौं नगरसभाको दोस्रो बैठकमा बोल्दै नगरसभा सदस्य गणेश खत्रीले आगामी बर्षको बजेट, नीति तथा कार्यक्रम तीन बर्षकै उत्कृष्ट रहेको बताए । उनले कार्यावन्यनमा सबै जुटनुपर्ने पनि धारणा व्यक्त गरे । यस्तै, अर्का नगरसभा सदस्य डिक वहादुर राईले पनि बजेट ब्यवहारिक र उत्कृष्ट रहेको बताए । उनले बजेटले सबै क्षेत्रलाई सम्वोधन गरेको पनि बताए । इटहरी चोकमा नेपालको नक्सासहितको पृथ्वीको स्मारक राख्न लागिएकोमा खुशी प्रकट गर्दै नाम भने इटहरी चौकनै हुदाँ राम्रो हुने जनताले माग गरेको उनको भनाई थियो ।

अर्का सदस्य कर्ण वहादुर पौडेलले इटहरीमा प्रमुख प्रशासकीय अधिकृत चाडै परिवर्तन हुदाँ समस्या हुने गरेको बताए । उनले भने,“प्रमुख प्रशासकीय अधिकृत बस्ने भवन नै पोखरीमाथि छ, नागको तापले पो हो कि किन हो हाकिम चाँडै जान्छन ।” नगरसभा सदस्य तेजनारायण चौधरीले इटहरी उपमहानगरले चालु आर्थिक वर्षमा ११ वटा र आगामी वर्ष थप गरि वहुवर्षे योजना संचालन गर्न लागेकोमा खुशी प्रकट गरे । बहुवर्षे सडक योजनाका कारण गाँउ गाँउका जनताले उपमहानगरवासीको अनुभूति गर्न पाएको उनको भनाई छ । वैठकमा उपप्रमुख लक्ष्मी गौतमले अर्थ विधेयक २०७७ र विनियोजन विधेयक २०७७ पेश गर्नुभयो । अर्को वैठक असार २२ गते वस्ने छ ।