इटहरी: इटहरी उपमहानगरको आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १ अर्व ७८ करोडको वजेट प्रस्तुत गरिएको छ ।

नगर प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको उपमहानगरको सातौ नगर सभामा उपप्रमुख लक्ष्मीगौतमले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । नगरसभा सुरु हुनुअधि मेयर चौधरीले इटहरी चौकमा नेपालको राष्ट्रिय झण्डा फहराएका थिए । नगरसभामा संविधानसभाका सभासद रेवती रमण भण्डारी, प्रदेशसभा सदस्यहरु सर्वध्वज साँवा र लिलम वस्नेतले शुभकामना ब्यक्त गरेका थिए ।

कुल १ अर्व ७८ करोड बजेट मध्ये चालुतर्फ ७१ करोड ७५ लाख, पूँजीगततर्फ १ अर्व ४ करोड ७५ लाख र वित्तीय ब्यवस्था तर्फ १ करोड ४० लाख अनुमान गरिएको छ । वजेटमा स्वास्थ्य, कृषि, रोजगार र भौतिक संरचना निर्माणलाई प्राथमिकता दिइएको छ । आगामी आर्थिक बर्ष इटहरीको २५ बर्षे योजनासहितको विस्तृत गुरु योजना निर्माण गरिने भएको छ । इटहरीमा इन्जिनियरिङ अध्ययन गराउने सामुदायिक क्याम्पस स्थापना गर्ने कार्यको सुरुवात गरिने भएको छ ।

इटहरी अस्पतालको सुधार र स्तरोन्नतीका लागि प्रदेश सरकार र इटहरी उपमहानगरले उल्लेख रकमखर्च गरिने भएको छ । अहिले त्यहाँ ३३ कोठे नयाँ अस्पताल भवन निर्माण सुरु भइसकेको छ । ५० बर्ष माथिका जेष्ठ नागरिकको मुटु सुगर लगायतका रोगको निःशुल्क परीक्षण गरिने छ । ७५ वर्ष माथिका जेष्ठ नागरिकको सवै प्रकारका रोगको परीक्षण गरिने छ । एक हजार विपन्न परिवारको निःशूल्क स्वास्थ्य परीक्षण गरिने छ ।

इटहरीलाई कृषिमा आत्मनिर्भर वनाउन विभिन्न कार्यक्रम संचालन गरिने जनाइएको छ । इटहरीलाई वाँझो जमिनमुक्त क्षेत्र घोषणा गरिने भएको छ । घरेलु ग्राम निर्माणका लागि १ करोड वजेट विनियोजन गरिएको छ । वहुजातीय संग्राहलय निर्माण कार्यको थालनी गर्न १ करोड रुपियाँ विनियोजन गरिएको छ ।

आगामी वर्षमा बहुबर्षीय एघार वटा योजना सम्पन्न गरिने छ । ती योजना सम्पन्न हुदाँ ३० किलोमिटर ग्रामिण वाटो कालोपत्रे हुने छन् । इटहरीमा निर्माण सुरु गरिएको सुरक्षित आवास गृह सेफ हाउस निर्माण सम्पन्न गरिने छ । उपमेयर सुत्केरी भेट कार्यक्रमलाई निरन्तरता दिइएको छ । इटहरी अस्पताल र उपमहानगर क्षेत्रभित्रका वर्थिड सेन्टरमा प्रसुती गराउने महिलाका लागि थप १ हजार रकम प्रदान गरिने कार्यलाई निरन्तरता दिइएको छ ।

मेयरकप फुटवल प्रतियोगिता र विद्यालय स्तरीय ओलम्पिक खेलकुद प्रतियोगिता गरिने भएको छ । विदेशवाट फर्किएका युवालाई नयाँ रोजगारीका लागि युवा स्वरोजगार कार्यक्रम संचालन गरिने छ । मुसहर वस्तिविकास कार्यक्रमलाई निरन्तरता दिइने छ । यो कार्यक्रममार्फत यस बर्ष ९ घर निर्माण सम्पन्न हुन लागेका छन् । अतिविपन्न मुसहर परिवारलाई ती घर हस्तान्तरणगरिने छ ।

देशमै नौलो स्मार्ट पार्किङ निर्माणका लागि पाँच करोड रकम विनियोजनागरिएको छ । इटहरी चौकमा पृथ्वी आकारको स्मारक निर्माण गरिने छ । इटहरी ९ वीपी चौकमा वीपी कोइरालाको र इटहरी १६ लविपुरमा मदन भण्डारीको शालिग निर्माण गरिने छ ।