काठमाण्डौं: जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद पदबाट हटाएको छ ।

पार्टीको मंगलबार दिउँसो बसेको पदाधिकारी बैठकले नेतृ गिरीलाई पार्टीको साधारण सदस्य र सांसदबाट हटाउने निर्णय गरेको हो । गिरीले पार्टीको निर्देशन र संसदीय दलको ह्वीप उल्लंघन गरेकको ठहर गर्दै निष्कासन गर्ने निर्णय गरेको हो । भारतले कब्जा गरेको नेपाली भुमी लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्सा सरकारले जारी गरेपछि त्यसविरुद्ध अभिव्यक्ति दिएर नेतृ गिरी विवादमा फसेकी थिइन् ।

उक्त नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्न ल्याइएको संविधान संशोधन विधेयकमा पार्टीले समर्थन जनाएको थियो । तर, सांसद गिरीले त्यसविरुद्ध संशोधन प्रस्ताव दर्ता गराइन् भने पार्टीले फिर्ता लिन आग्रह गर्दा अस्वीकार मात्र गरिनन्, संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने पार्टीको ह्वीप उल्लंघन गर्दै प्रतिनिधि सभाको बैठक बैठक बहिष्कार पनि गरेकी थिइन् ।

उतको यो कदम पछि पार्टीले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले मंगलबार पार्टी पदाधिकारीलाई प्रतिवेदन बुझाएको थियो । गिरीले भारतले कब्जा गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि होइन भनेर आपत्तिजनक अभिव्यक्ति दिदै आएकी थिइन् ।