धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज १२ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार पिसिआर रिपोर्ट नेगेटिभ भएर अस्पतालबाट डिस्चार्ज हुनेमा २ बर्षका बालिका पनि छिन् । डिस्चार्ज हुनेहरुमा महिला र पुरुष समान ६ जना रहेका छन् । ती मध्ये झापा जिल्लाका ८ जना छन् भने एक जना सुनसरी र ३ जना खोटाङ जिल्लाका हुन् । झापाका संक्रमितहरु असार ७, १२ र १६ गते पिसिआर पोजेटिभ आएपछि प्रतिष्ठानमा भर्ना भएका थिए भने खोटाङ र सुनसरीका संक्रमितहरु असार ७, १८ र १९ गते भर्ना भएका थिए । प्रतिष्ठानबाट हालसम्म २३९ जना डिस्चार्ज भएका छन् ।

यसैगरि, प्रतिष्ठानमा आज ५ जना संक्रमित व्यक्तिहरु भर्ना भएका छन् । योसँगै प्रतिष्ठानमा २८ जना पिसिआर पोजेटिभ रिपोर्ट आएका व्यक्तिहरु उपचाररत अवस्थामा रहेको प्रतिष्ठानका सहायक प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा हालसम्म ११ हजार २ सय ३३ स्वाबको नमुनाको पिसिआर परीक्षण भइसकेको छ ।