धरान: मेयर तिलक राईको नाममा पेश्की बेरुजु रहेको बिषयले २ दिन अघि बिथोलिएर स्थगित भएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज बस्ने भएको छ ।

मेयर तिलक राईले दिउँसो ३ बजेको लागि कार्यपालिका बैठक बोलाएका छन् । बैठक सहमतिमा नै बोलाइएको मेयर राईले बताए । ‘अस्ति पनि सहमतिमा नै बैठक स्थगित गरिएको हो, आज पनि सहमतिमा नै बोलाएको हो । मैले एक्लै बोलाउने पनि होइन,’मेयर राईले भने । शुक्रबारको बैठक स्थगित हुँदा सातौं नगरसभा अन्योल भएको छ । असार १० गते सातौं नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएपछि असार २६ गते बैठक बस्ने गरि स्थगित भएको थियो । तर, २६ गते नगरसभा हुन सकेन भने कार्यपालिका बैठक पनि मेयरको बेरुजुको समाचारले विथोलिएको थियो ।

धरानबाट प्रकाशित एक दैनिक पत्रिकामा १३ बर्षअघि बुद्ध चोक विस्तार तथा मुर्ति स्थापनाको लागि मेयर राईले पेश्की लिएको मध्ये २ लाख ४१ हजार रकम बेरुजु भएको समाचार प्रकाशित भएको थियो । सोही समाचारको बिषयलाई लिएर शुक्रबार कार्यपालिका बैठकमा नेकपा सम्बद्ध वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले मेयर राईप्रति प्रश्न उठाउदै चित्त बुझ्दो जवाफ नआएको भन्दै बैठक बाहिष्कार गरेका थिए । तर, मेयर राईले भने बुद्ध चोक विस्तारको काम भएको दाबी गरेका छन् । मेयर राईले बेरुजु फछ्यौटको प्रक्रियामा गएको र केही समय लाग्ने पनि बताए ।

नेकपाबाट विजयी उपमेयर मञ्जु भण्डारी सुवेदीले पनि नगरसभा जस्तो महत्वपुर्ण एजेण्डामा छलफल गर्नुपर्ने भएकोले आजको बैठक समझदारीमा नै राखिएको बताइन् । ‘बेरुजुको बिषय कार्यपालिका सदस्यहरुबाट उठेको थियो । त्यसको पनि प्रक्रिया छ, मेयरबाट फछ्यौटको प्रक्रिया शुरु भएको कुरा आएको छ, त्यसबारे औपचारिकरुपमा बैठकमा जानकारी आउला,’उनले भनिन्,‘नगरसभाको बिषय र बजेट, नीति तथा कार्यक्रम जस्तो महत्वपुर्ण बिषयमा छलफल गर्नुपर्ने भएकोले आज बैठक सहमतिमा नै हुन्छ ।’