धरान: वडामा बजेट थोरै आएको भन्ने विवादले धरान उपमहानगरपालिकको कार्यपालिका बैठक बीचैमा भाडिएको छ ।

मेयर तिलक राईले दिएको बजेट सिलिङमा असन्तुष्टी जनाउदै वडा नं १ का अध्यक्ष रोशन अधिकारीले बैठकमा आक्रोश पोखेका थिए । उनले बजेटको सिलिङको कागज पनि त्यतेर कराउन थालेपछि बैठक अघि बढ्न सकेन । त्यसपछि एकपछि अर्को गर्दै वडाअध्यक्षहरु बैठकस्थलबाट बाहिरिए पछि कार्यपालिका बैठक भाडिएको वडा नं ९ का अध्यक्ष रत्न कटवालले बताए । ‘यसपाली बजेट सबैको घटेको हो तर वडा १ का अध्यक्षले एक्कासी कराउन थालेपछि बैठक भाँडियो,’उनले भने ।

बैठकस्थलबाट अधिकांश अध्यक्षहरु बाहिरिएका छन् भने अहिले मेयर, उपमेयरसहित केही वडाअध्यक्षहरुबीच छलफल चलिरहेको वडा नं २ का अध्यक्ष माधव गोविन्द श्रेष्ठले बताए । ‘मेयर, उपमेयर र हामी छलफल भइरहेको छ, के गर्ने अहिल्यै भन्न सकिन्न,’उनले भने,‘वडा १ का अध्यक्ष र अन्य अध्यक्षहरुको पनि बजेटमा असन्तुष्टी थियो ।’ बैठकमा २० करोडको बजेट सिलिङ मेयरले वितरण गरेका थिए । आजको बैठकले नीति,कार्यक्रम पास गर्नुपर्ने थियो । बैठक भाँडिएपछि भोलीको नगरसभा अनिश्चित बनेकोछ ।