धरान: विवादको कारण निर्धारित मितिमा हुन नसकेको धरान उपमहानगरपालिकाको सातौं नगरसभा असार ३० र ३१ गते हुने भएको छ ।

आज बसेको कार्यपालिका बैठकले असार १० गते शुरु भएर स्थगित भएको नगरसभाको बैठक ३० र ३१ गते गर्ने निर्णय गरेको हो । असार १० गते नीति तथा कार्याक्रम र बजेट प्रस्तुत गरेर असार २६ गते बैठक बस्ने गरि नगरसभा स्थगित भएको थियो । तर, असार २६ गते शुक्रबार बैठक बस्न सकेन । शनिबार कार्यपालिका बैठक भए पनि मेयर तिलक राईको नाममा पेश्की बेरुजु बिषयले विवाद भएर कार्यपालिका बैठक स्थगित हुन पुगेको थियो । नेकपाबाट निवार्चित कार्यपालिका सदस्यहरुले मेयरको नाममा बेरुजु समाचार प्रकाशित भएको भन्दै प्रष्ट पार्नुपर्ने माग गर्दै बैठक छाडेर हिडेका थिए ।

आज भने सौहार्दपुर्णरुपमा कार्यपालिका बैठक सम्पन्न भएको छ । कार्यपालिका बैठक नबस्दा नगरसभा प्रभावित हुने र बजेट, नीति तथा कार्यक्रम नै पारित नहुने अवस्था आएपछि नेकपाले आफ्ना कार्यपालिका सदस्यहरुलाई बैठकमा सहभागी हुन निर्देशन दिएको थियो । ‘असार ३० र ३१ गते नगरसभाको बैठक बस्ने निर्णय भयो,’ मेयर राईले भने,‘नगरसभामा लैजाने गरि विधेयक, बजेट सिलिङलगायत पास भएको छ ।’

नगरसभामा लैजाने गरि कार्यपालिका बैठकले राजश्व परिचालन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक , विनियोजन विधेयक ऐन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा बनेको विधेयक, खानेपानी तथा सरसफाई उपभोक्ता समिति व्यवस्थान गर्न बनेको कार्यविधि पास गरेको पनि मेयर राईले जानकारी दिए । यस्तै, घरनक्सा सम्बन्धी आएको प्रतिवेदनलाई केही कुरा सम्बन्धीत निकायमा सिफारिश गर्ने, केही कार्यान्वयन गर्ने र थप छलफल गर्ने निर्णय पनि भएको छ।