धरान: सातौं नगरसभाको दोस्रो बैठकमा हिजो ४ विधेयक र २ प्रतिवेदन प्रस्तुत भएपछि बुधबार(आज) ११ बजे बैठक आह्वान गर्दै स्थगित भएको थियो ।
आज दिउँसो १ बजिसक्दा पनि बैठक शुरु भएको छैन । बैठकस्थल वीपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा नगरसभा सदस्यहरु तोकिएकै समयमा पुगेका थिए । तर मेयर उपमेयरसहित केही कार्यपालिका सदस्यहरु भने उपमहानगरपालिकामा छलफलमा ब्यस्त थिए । खेलकुद समितिको बजेट र खानेपानी संस्थान तथा आयोजना मर्ज गर्न जिम्मा लिने बिषयमा आवश्यक सहमति जुटाउन छलफल भएको एक वडाअध्यक्षले बताए । तर कुरा नमिलेको उनले बताए ।
ती वडाअध्यक्षका अनुसार नीति तथा कार्यक्रममा साउन १ गतेदेखि खानेपानी संस्थान र खानेपानी आयोजना बोर्डले जिम्मा लिएर पानी वितरणको व्यवस्थापन गर्ने भनिएको छ । तर, मेयर तिलक राई भने तत्काल जिम्मा नलिने र विज्ञ टोली गठन गरेर छानबिन गर्ने पक्षमा छन् । यसअघि नै विज्ञ टोली गठन गर्ने निर्णय भएको भनिएपनि कार्यान्वयन हुन सकेको छैन । नेकपा भने तत्काल दुवै संरचना जिम्मा लिएर बोर्डले खानेपानी वितरण गर्नुपर्ने पक्षमा छ । त्यसैले आवश्यक सहमति जुटाउन सभा बैठकअघि छलफल भएको हो । ‘बोर्डको अध्यक्ष मेयर हुन्छ, उहाँले खानेपानी जिम्मा लिने हो भने लिन्छु भन्नुपर्यो । नलिने हो भने नलिने भनेर प्रष्ट भन्नु पर्यो,’एक अध्यक्षले भने,‘मेयरले जिम्मा लिन नसक्ने हो भने अरु केही विकल्प सोचौला ।’
आगामी आर्थिक बर्षको लागि खेलकुदतर्फको बजेटमा स्कुल ओलम्पिक मेयर कपमा १ लाख २५ हजार मात्र बजेट विनियोजन गरिएको छ । यो बिषयमा पनि आज नगरसभा बैठकमा नेकपातर्फका सदस्यहरुले प्रमुखताका साथ कुरा उठाउने भएका छन् । स्वर्गीय मेयर तारा सुब्बाको पालादेखि नै शुरु भएको यो कार्यक्रम खेलकुदको महत्वपुर्ण भएको नेकपा पक्षको भनाई छ । चालु बर्षमा मेयर कपको लागि १९ लाख बजेट थियो ।
नगरसभा सञ्चालन सहयोग समितिका सदस्यसमेत रहेका वडा १७ का अध्यक्ष मनोज भट्टराईले भने थुप्रै बिषयहरुमा छलफल भएको बताए । ‘सभाको बैठकलाई कसरी सहजरुपमा सञ्चालन गर्ने भनेर छलफल भएको हो,’उनले भने । यता मेयर तिलक राईले पनि सभा बैठक ढिलाई हुनुमा आर्थिक बर्षको क्लोजिङको समय भएको र उपभोक्ता, कर्मचारीहरुको धेरै कामको चाप, गुनासोहरु भएकोले मिलाउनको लागि उपमहानगरपालिका जानुपर्दा ढिलाई भएको बताए । ‘उपमेयर, कार्यपालिका सदस्यहरुसँग त भेटघाट, छलफल भइहाल्छ नि । त्यो त नियमित नै हो,’मेयर राईले भने ।