धरान: धरान उपमहानगरपालिकाको सातौं नगरसभाले आगामी आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।
आज सम्पन्न सातौं नगरसभाको तेस्रो बैठकले नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतले पारित गरेको हो । उपमहानगरले असार १० गतेको नगरसभामा आगामी आर्थिक बर्षको लागि १ अर्ब ७२ करोड ३५ लाख ४३ हजार बराबरको बजेट, नीति तथा कार्यक्रम पेश गरेको थियो । आजको तेस्रो बैठकले सर्वसम्मतरुपमा पारित गरेको हो । यस्तै, नगरसभाले विनियोजन विधेयक, आर्थिक विधेयक, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राजश्व परिचालन विधेयक २०७७ पनि सर्वसम्मतले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत विदुर खनालले जानकारी दिए ।
खानेपानी र कोशी राजमार्गको लागि मेयर, उपमेयर काठमाण्डौं जाने
नगरसभामा पेचिलो बिषय थियो, धरान खानेपानी आयोजना बोर्डमा मर्ज गरेर साउन १ गतेदेखि बोर्डले खानेपानी व्यवस्थापन गर्ने । आजको बैठकमा बोल्ने अधिकांश नगरसभा सदस्यहरुले खानेपानीको बिषयलाई उठान गरेका थिए ।
नीति तथा कार्यक्रममा खानेपानी आयोजना र संस्थानलाई समायोजन गरेर खानेपानी व्यवस्थापन बोर्डले साउन १ गतेदेखि खानेपानी वितरणको प्रस्ताव थियो । मेयर तिलक राई यो प्रस्तावबाट पछि हट्नसक्ने भन्दै नेकपा पक्षका नगरसभा सदस्यहरुमा आशंकित थिए । नगरसभा सदस्यहरुले चर्को कुरा उठाए पछि मेयर र उपमेर दुवै तत्काल काठमाण्डौं गएर खानेपानी संस्थानलाई बोर्डमा गाभ्नको लागि पहल गर्ने उत्तर दिएको वडा नं ९ का अध्यक्ष रत्न कटवालले जानकारी दिए । ‘नगरसभा सदस्यहरुले खानेपानीको बिषय प्रमुखताका साथ उठाए, मेयर र उपमेयर दुवै काठमाण्डौं गएर मिलाएर आउने जवाफ दिनुभयो,’उनले भने ।
यस्तै, कोशी राजमार्गको धरानको मुख्य बजार क्षेत्रमा ८० फुट मापदण्ड कायम गराउने पनि प्रस्ताव पारित भएको छ । यो बिषयमा पनि मेयर र उपमेयर काठमाण्डौं गएर संघीय सरकारसँग आवश्यक पहल गर्ने जवाफ सभामा दिइएको अध्यक्ष कटवालले बताए । 'उहाँहरु दुवैले धरानको समस्या लिएर केही दिनभित्रै काठमाण्डौं डेलिगेशन जान्छौं । मुख्य कोशीराजमार्ग र खानेपानी संस्थानलाई बोर्डमा गाँभ्ने कुरा लिएर जान्छौं भन्नु भयो,'अध्यक्ष कटवालले भने ।