धरान: धरानमा एडिबिको ऋण तथा अनुदानमा सञ्चालित खानेपानी परियोजना असफल भएको दाबी गर्दै खानेपानी संस्थानलाई मर्ज नगर्न माग गर्दे आज पनि धरानमा प्रर्दशन भएको छ ।

धरान खानेपानी संस्थान बचाउ सर्वदलीय सर्वपक्षीय संघर्ष समितिले धरान १३ स्थित खानेपानी संस्थान कार्यालयमा घेराउ गरेको हो । यो समितिमा धरानका विभिन्न राजनीतिक दल, संघसंस्थाहरु आवद्ध छन् । उनीहरुले खानेपानी परियोजना असफल भएकोले संघीय सरकारलाई नै जिम्मा दिन माग गरेका छन् । परियोजनासँगै खानेपानी संस्थानलाई खानेपानी व्यवस्थापन बोर्डमा मर्ज नगर्न माग गर्दै समितिले त्यसो गरिए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।

khanepani-sasthan1

धरानमा खानेपानी परियोजना शुरु भएदेखि नै चर्को विवाद भइरहेको छ । परियोजनाको म्याद सकिए पनि अझै पानी वितरण हुन सकेको छैन । अहिले रेल्वे सिस्टमबाट वडा १७ र ११ का केही भाग र पिण्डेश्वर सिस्टमबाट वडा १५ मा पानी वितरण भइरहेको छ । तर, ती वडालाई पनि पर्याप्त पानी वितरण हुन नसकेको विरोधी पक्षको दाबी छ । ‘२ वडालाई त राम्रो पानी खुवाउन सकेको छैन, यो असफल भैसकेको परियोजना जिम्मा लिनु हुन्न,’आन्दोलनरत पक्षमा रहेका संघीय लिम्बुवान मञ्चका जिल्ला अध्यक्ष अमर इजमले भने,‘जर्बजस्ती गरिए कडा आन्दोलन हुन्छ ।’

khanepani-sasthan2

पछिल्लो समय साउन १० गतेको नगरसभामा आयोजना र संस्थान दुवै खानेपानी व्यवस्थापन बोर्डमा समायोजन गर्ने प्रस्ताव भएपछि खानेपानी विवाद थप चर्किएको हो । अहिले दिनहुँजसो धरानमा खानेपानीको बिषयमा प्रर्दशन भइरहेकोछ । खानेपानी आयोजना असफल भइसकेको कारण खानेपानी संस्थानलाई मर्ज(समायोजन) गर्न नहुने पक्षले प्रर्दशन गरेको हो । हिजो(मंगलबार) पनि धरान उपमहानगरपालिका घेराउ गरिएको थियो ।