धरान: धरानबाट प्रकाशित हुने एक दैनिक पत्रिकामा धरानका मेयर तिलक राईको नाममा पेश्की बेरुजु भएको समाचारले निक्कै हलचल मच्चायो ।

सामाजिक सञ्जालसँगै धरानको राजनीतिक महोल तताएको यो बेरुजु प्रकरणमा मेयर राई स्वयम भने चुपचाप थिए । यो प्रकरणमा करिब एक सातापछि आज मेयर राईले सार्वजनिक कार्यक्रममा नै मुख खोलेका छन् । उनले २०५४/०५५ सालतिर दुर्गा चोक–बुद्धचोक बाटो निर्माण भएको स्मरण गर्दै त्यहाँ धरान नगरपालिकाको एक रुपैया पैसा पनि मर्मतमा नगएको बताए । तर, त्यो बाटोको पनि अहिलेसम्म बेरुजु छ रहेको उनले बताए । ‘म प्रश्न गर्न चाहन्छु ? के यो बाटो नबनेको हो ? भ्रष्टचार भएको हो ?’ बुद्धचोकमा बुधबार चिण्डोको प्रतिमा अनावरण कार्यक्रममा उनले भने ।

२०६० सालतिर चोक विस्तार गर्न बुद्धचोक निर्माण तथा बुद्ध प्रतिमा अनावरण प्रतिमा समितिको संयोजक बनेको उनको भनाई थियो । त्यसबेला मुर्ति कसैले दियो भने अनावरण गर्ने भन्ने उद्देश्य रहेको मेयर राईले बतए । ‘चोक विस्तार गर्यौं, फुटपाथ बनायौं, ड्रेन बनायौं । ६० सालमा बनेको फुटपाथ, ड्रेन, पिच बन्यो, नगरपालिकाले खर्च गर्न परेको छैन,’मेयर राईले भने,‘के यो नबनेर बेरुजु भएको हो ? सबै काम भएकै छ त ! समितिले भ्रष्टचार गरेको हो ? समितिको संयोजक तिलक राईले भ्रष्टचार गरेको हो ? व्यक्तिगत पेश्की लिएको हो ? म प्रश्न गर्न चाहन्छुँ ।’

उनले बुद्ध चोक क्षेत्रमा बसोबास गर्ने कसैले पनि सरकारी पैसा लिएर नखाने जिकिर गर्दै बुधबार अनावरण गरिएको चिण्डो बनाउन पनि स्थानीयले साढे ५ लाख पैसा दिएको बताए । विगतमा चोक निर्माणमा पनि उपभोक्ताकोतर्फबाट पैसा लगानी गरेको उनको भनाई थियो । ‘जुन दिन असार २५ गतेको यहाँको पत्रिकामा जुन दिन बेरुजु भनेर निस्कियो, म त धन्यवाद दिन चाहन्छु । नगर प्रमुखको बेरुजु निस्कियो भने, नगर प्रमुखले स्वीकार गरेको छ भने अब धरानमा भएको विगतको सबै बेरुजु फछ्यौट हुनुपर्छ,’मेयर राईले भने,‘त्यो मेरो अभिलाषा हो, नगर प्रमुखकै बाट फछ्यौट हुनुपर्छ । त्यो बेरुजु प्रक्रियागतढंगबाट फछ्यौट हुन्छ, मैले अन्यथा लिएको छैन ।’

'बुद्धको प्रतिमा बनाउन पेश्की लिएको होइन'

मेयर राईले पेश्की बेरुजुको समाचार प्रकाशित गर्ने पत्रिकालाई धन्यवाद दिए पनि १३ बर्षअघि बुद्धको प्रतिमा बनाउन नगरपालिकाबाट बजेट लिएर चिण्डो बनाएको भन्ने आसयको भने खण्डन गरे । उनले त्यसबेला प्रतिमा बनाउन बजेट नलिएको प्रष्ट्याउदै बुद्धचोक निर्माणको लागि मात्र पैसा आएको बताए ।

‘बुद्धको प्रतिमा बनाउन पैसा लिएको र अहिले चिण्डो बनायो भन्ने छ । त्यो सरासर झुटो हो, म खण्डन गर्न चाहन्छु,’उनले भने,‘प्रतिमा त दाताले दियो भने अनवारण गर्ने भन्ने थियो । २०६३ सालमा बैठक बस्यो, तिलक राईको संयोजकत्वमा समिति बन्यो । त्यो समितिले बुद्धको प्रतिमा राख्नको लागि छुट्टै समिति बनाउने भन्ने निर्णय गरेको छ । त्यसैले त्यो पैसा बुद्धको प्रतिमा बनाउन लिएकै होइन ।’

'बुद्धचोकमा जन्मिएकोमा गर्व छ'

मेयर राईले आफु बुद्धचोकमा जन्मिएर हुर्किएको उल्लेख गर्दै बुद्धचोकबासी हुनुमा गर्व भएको बताए । चिण्डोको प्रतिमा बनाएको बिषयमा बुद्ध चोक कि चिण्डो चोक नाम रहने भन्ने विवादप्रति लक्षित गर्दै मेयर राईले बुद्ध चोकप्रति आफ्नो अगाध माया र स्नेह रहेको पनि बताए ।

‘म यही चोकमा जन्मिए, यही चोकमा हुर्किए । यो चोक बुद्धचोक हो, जो साथीहरुले बुद्धचोकको नामको कुरा गरिरहनु भएको छ । उहाँरुहरुलाई जति माया छ, त्यो भन्दा केही गुणा माया तिलक राईलाई होला,’उनले भने,‘किनभने तिलक राई र बुद्धचोकको नाम सँगसँगै अघि बढीरहेको छ । तिलक राई बुद्ध चोकमा जन्मिएर हुर्किएको हो, त्यही तिलक राई आज नगरको नेतृत्व गरिरहेको छ । त्यो तिलक राईलाई भन्दा अरु कस्लाई माया हुनसक्छ यो बुद्ध चोकको ? त्यसो भएको हुनाले म बुद्धचोकको नामप्रति अगाध स्नेह गर्न चाहन्छु, अगाध प्रेम गर्न चाहन्छु । बुद्धचोकको हुँ भन्न गर्व गर्न चाहन्छु ।’