धरान: दुई दिनअघि बिहिबार सुनसरीको सिमावर्ती देवानगञ्ज गाउँपालिका ३ पानीटंकीमा प्रहरीसँग भएको गोली हानाहान घटनामा फरार ३ जनाको पहिचान खुलेको छ ।

प्रहरीलाई गोली प्रहार गर्दै फरार ३ जना मध्ये एक भारतीय नागरिक भएको खुलेको हो । प्रहरीका अनुसार २ जनामा एक जना नेपाली नागरिक हो भने अर्को व्यक्तिबारे प्रष्ट हुन बाँकी छ । प्रहरीको गोली लागेर घाइते भएका २ जनाको प्रारम्भिक वयानबाट फरार भएका ३ जनाबारे प्रारम्भिक जानकारी खुलेको हो । बिहिबार रातीको घटनामा प्रहरीको गोली लागेर देवानगञ्ज २ का का २३ बर्षीय पिन्टु यादव र ३२ बर्षीय राजेश यादव घाइते छन् । उनीहरुको धरानस्थित वीपी प्रतिष्ठानमा उपचार भइरहेको छ । ‘उनीहरुको उपचार भइरहेकोले सामान्य वयान मात्र भएको छ, धेरै कुरा गरेका छैनन्,’एसपी थापाले भने,‘फरार ३ जना मध्ये एक भारतीय भएको हो । एक जना चै कहाँको हो भन्ने कन्फर्म भएको छैन । घाइतेले क्लियर कुरा गरेको छैन ।’

यसैगरि, प्रारम्भिक जानकारी अनुसार यो समुह हतियार बिक्री गर्ने उद्देश्यले आएको पनि खुलेको छ । उनीहरुको साथबाट प्रहरीले अटोमेटिक युएसए पेस्तोल एक थान, गोली ६ थान र म्याग्जिन २ वटा पनि वरामद गरेको थियो । फरार भएको समुहले पनि गोली चलाएको हुनाले उनीहरुसँग अझै धेरै हतियार भएको प्रहरीको अनुमान छ । ‘हतियार बेच्न आएको हो भन्ने खुलेको छ, थप कुरा अनुसन्धानबाट खुल्नेछ,’उनले भने ।

बिहिबार राती करिब पौने ९ बजे २ वटा मोटरसाइकलमा आएका ५ जनालाई चेकजाँच गर्नेक्रममा प्रहरी र उक्त समुहबीच झोला खोसाखोस भएको थियो । त्यसक्रममा झोलाबाट हतियार खसेपछि प्रहरीमाथि गोली प्रहार भएको थियो । प्रहरीले पनि फायर खोलेपछि ३ जना फरार भए भने २ जनालाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको थियो । 

यो घटना भएको २४ घण्टा बित्न नपाउदै हिजो शुक्रबार राती पनि सुनसरीको हरिनगरा गाउँपालिका ६ घुस्कीमा पनि सशस्त्र प्रहरी र तस्करबीच भिडन्त भएको थियो । तस्करीको सामान लिएर आएको समुहलाई रोकेपछि उनीहरु सशस्त्रमाथि नै जाइलागेका थिए । बाँसको भाटा र ढुंगा प्रहार गर्दै सशस्त्रको हतियार खोस्ने क्रममा एक प्रहरी घाइते भएका छन् भने एक युवालाई गोली लागेको थियो ।