धरान: करिब २ बर्षअघि धरानको भानुचोकदेखि पुर्व माछा भौडी जाने सडक ५० फुट बनाउने निर्णय धरान उपमहानगरपालिकाले गर्यो । साथै, यो सडकलाई नगर गौरवको आयोजना घोषित गर्दै बजेट विनियोजन गर्यो ।
सडक मात्र १७५ मिटरको छ । तर, धरानको मुटू मानिने भानुचोक जोडिने सडक भएकोले उपमहागनरले महत्व दिएको थियो । सडक निर्माण कार्य शुरु गर्दा घर भत्काउनु पर्ने भयो । नजिकैको कैलाश पथ सडक निर्माण शुरु गर्दा स्थानीयले घर भत्काउन नमानेपछि लफडा भएको थियो । तर, देशीलाइनमा त्यस्तो भएन । घरधनी सबैले धमाधम आफ्नो घर भत्काएर सडक फराकिलो बनाउन उपमहानगरपालिकालाई मद्दत गरे । त्यही देशीलाइन सडक निर्माण सम्पन्न भएर आइतबार उद्घाटन भएको छ ।
धरान उपमहानगरका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीले संयुक्तरुपमा रिबन काटेर देशीलाइन सडकको उद्घाटन गरेका छन् । सडक उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर र उपमेयर दुवैले देशीलाइनका घरधनीहरुको खुलेर प्रसंशा गरे । विकासको लागि आफ्नो घर पनि भत्काएर देशीलाइनबासीले सहयोग गरेको देखेर नै वडा नं ६ मा पनि बाटोको लागि घर भत्काएको उदाहरण पेश गर्दै धरानका अन्यत्रका वडाबासीहरुले पनि प्रेरणा लिनुपर्ने बताएका थिए ।
मेयर राईले भौतिक पुर्वाधार विकासमा धरानले नमुना काम गर्दै आएको धारणा राख्दै अब बसपार्क, बाइपास सडक, एयरपोर्ट, खानेपानी आयोजनालाई टुंगो पुर्याउने जस्ता नगर गौरवको योजनाहरुमा केन्द्रीत हुने बताए । उनले कोशी राजमार्गलाई बाइपास गरेर उक्त सडकलाई थप केही चौडा सडक बनाउनुपर्ने धारणा राख्दै उक्त सडक किनाराका बासिन्दाहरुलाई देशीलाइनबाट प्रेरणा लिन पनि आग्रह गरे । ‘उपमहानगरपालिकाले कसैलाई घरबारबिहिन, जग्गाबिहिन बनाउने सोच्दैन तर नगरको विकास र समृद्धिको लागि केही अप्रिय हुनसक्छ तथापी कालान्तरमा, भावी सन्ततीको लागि त्यो निर्णय वरदान हुनसक्छ,’उनले भने ।
उपमेयर भण्डारीले देशीलाइन सडकलाई नगर गौरवको आयोजनामा राख्नुको कारण लक्ष्मी सडक जोडिने बाटो भएको र भविष्यमा वान वे बनाउन सकिने बताइन् । ‘घरधनीले आफै घर भत्काएर सडक फराकिलो बनाउन सहयोग गर्नुभयो, देशीलाइनबासीलाई बिशेष धन्यवाद,’उनले भनिन्,‘अस्फल्ट प्रविधिबाट वलियो सडक बनेको छ । यहाँका बासिन्दाले घर भत्काएको देखेर पानवारीमा पनि बाटो फराकिलो बन्यो, यो अरुको लागि नमुना सडक हो ।’
टिएलओका अध्यक्ष एवं सडक अनुगमन समितिका संयोजक सुधिरसिंह लिम्बुले सडकको दुवैतर्फ खानेपानीको पाइप र विजुलीको पोल राखिएको बताए । टेलिकमको तार अण्डरग्राउण्ड राखिएको उनले बताए । कार्यक्रममा सडक निर्माणमा महत्वपुर्ण सहयोग गर्ने सन्तोष कार्की, पदम श्रेष्ठ, ईञ्जिनियर सुरज श्रेष्ठ, सौहार्द श्रेष्ठ, अनुगमन समिति संयोजक सुधिरसिंह लिम्बु, रमेश चाम्लिङ दाम्दिहोछालाई कदरपत्र प्रदान गरिएको थियो । यो सडक २०७६ भदौ १७ गतेदेखि निर्माण कार्य शुरु भएको थियो । सडक १ करोड ३५ लाख ४५ हजार ९ रुपैयामा निर्माण सम्पन्न भएको हो ।